सिन्धुली। ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गर्न बुधबार आयोजना गरिएको पहिलो सिन्धुलीगढी हाफ म्याराथुन प्रतियोगिताको उपाधि सिन्धुलीको चण्डीदल गणले लिएको छ ।
प्रतियोगितामा चण्डीदल गण सिन्धुलीका कर्णबहादुर बस्नेत, पहिलो, केशव आचार्य दोस्रो र विश्वास बानियाँ तेस्रो हुनुभएको छ । कर्णबहादुर बस्नेतले एक घन्टा १७ मिनेट २५ सेकेन्ड, केशव आचार्यले एक घन्टा १९ मिनेट र विश्वास बानियाँले एक घन्टा २२ मिनेट लगाएर पार गरेका थिए ।
प्रतियोगितामा पहिलो हुने बस्नेतलाई प्रमाणपत्रसहित रु ५० हजार, दोस्रो हुने केशव आचार्यलाई रु ३० हजारसहित प्रमाणपत्र र तेस्रो हुने बानियाँलाई प्रमाणपत्रसहित रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगितामा सिन्धुली, रामेछाप, नुवाकोट र भक्तपुरकी एक महिलासहित २५ जनाको सहभागिता रहेको थियो ।
यस प्रतियोगिताले सिन्धुलीको जुनारको प्रचारप्रसारमा टेवा पुग्ने कार्यालयको अपेक्षा रहेको छ । साथै, सिन्धुलीगढी र सिन्धुलीको जुनारको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने कमलामाई नगरपालिका सिन्धुलीका कार्यकारी अधिकृत जगत भुषालले जानकारी दिए ।
ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न कमलामाई नगरपालिकाले पहिलोपटक आयोजना गरेको हाफ म्याराथुन प्रतियोगिता सिन्धुलीमा अहिले सम्मकै पहिलो हो ।
यस्तै, गोर्खालीले अङ्ग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा साइकल यात्रा बुधबार सम्पन्न भएको छ । काठमाडौँदेखि सिन्धुलीगढी सम्मको साइकल यात्रामा सहभागी ७० जनालाई सिन्धुलीगढीमा बुधबार भव्य स्वागत गरिएको थियो । साइकल यात्राको नेतृत्वकर्ता विश्व साइकलयात्री पुस्कर शाह र देवेन्द्र बस्नेतलगायत सहभागीलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैबीच, नेपाली वीरपुर्खाले साम्राज्यवादी ब्रिटिस अङ्ग्रेज सेनालाई परास्त गर्दै विजय हासिल गरेको दिनको स्मरण गर्दै ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाली झन्डोत्तोलन गरियो भने नेपाली सेनाद्वारा सलामी दिइयो । नेपाल पत्रकार महासङ्घ सिन्धुलीको आयोजना र जिविस सिन्धुलीको सहयोगमा विभिन्न कार्यक्रम भएका थिए । रासस