काठमाडौंः नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । सयौं दर्शकहरुको तालीका बीच सम्पन्न हेर्दै डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् ।
सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी, नोभिस पुरुषतर्फ भीम होनाले पहिलो स्थान, विवेक ह्युम्बाले दोस्रो स्थान र राम रामानन्द सरदारले तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ आरजु सिंह ठकुरी र सुजना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । सबैले फरक फरक स्टन्ट प्रदर्शन गरेको यसमा प्रतियोगितात्मक रुपमा बाइकर्स मार्ट नेपाल विजयी भए पनि अडियन्स च्वाइसतर्फ आरओबी अर्थात राइडर्स अफ भक्तपुरको प्रदर्शन उल्लेखनीय रहेको थियो ।
मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ । यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुन सक्छ ।
यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठूला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी)ले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो प्रतियोगिता सम्पन्न गरेको हो । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदको समेत साथ रहेको थियो ।