नवलपरासीः पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेशका नागरिक ध्रुव हरिजनले कलवारकी सात वर्षीय छोरी नव्यालाई भारतमा लग्न लाग्दा स्थानियले नियण्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका हुन् ।
भारतका हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरीलाई भारत लाग्न लागेका थिए । पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँजसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको आरोप छ ।
बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँतर्फ लैजानेक्रममा स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए ।
आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानवीन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए ।