बुटवलः करिव सात बर्षअघि जेसिसचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक दम्पत्तिको हत्यामा संलग्न प्रमुख दोषीलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीकै सैनामैना दुधराक्षका अर्जुन गौतम रहेको प्रहरीले जनाएको छ । अर्का एक दोषी भने फरार छन ।
विष्णु भण्डारी स्टोर्सका सञ्चालक २४ वर्षीय रमेश भण्डारी र उनकी श्रीमती २८ वर्षीया आशा भण्डारीलाई २०६७ असार ९ गते दिउँसो गोली हानी हत्या गरिएको थियो ।
गौतम भण्डारी दम्पती हत्याकाण्डका योजनाकार तथा सुटरसमेत रहेको जनाइएको छ । हत्यापछि भारतमा लुकी बसेका उनलाई नेपाल आउँदै गर्दा रुपन्देही प्रहरीले शनिबार सीमा क्षेत्र बेलहियाबाट पक्राउ गरी आइतबार बुटवलमा सार्वजनिक गरेको हो ।
हत्यालगत्तै गौतमले पसलमा रहेको पाँच लाख १८ हजार रकम समेत लुटेर लगेका थिए । दाई कृष्ण गौतम र भाई अर्जुन मिलेर व्यवसायी दम्पत्तिको हत्या गरी पैसा लुटेर फरार भएका थिए ।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार भण्डारी दम्पत्तिको हत्यामा आठ जनाको समूह संलग्न रहेका थिए । घटनाको केही महिनामा छ जनालाई पक्राउ गरी सार्वजनिक गरिए पनि मुख्य दोषीहरु भने फरार रहेका थिए ।
यसअघि पक्राउ परेकामध्ये तीन जना कर्तव्य ज्यानमा सर्वस्वसहित जेल चलान भएको र तीन जना सहयोगी भने छुटिसकेको जनाइएको छ । उक्त हत्याकाण्डपछि व्यवसायीहरुले सुरक्षाको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।