उद्घाटन खेलमा आयोजक माइभ्याली विजयी

Advertisement

इलामः ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ ।

माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९औं मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । पेनाल्टीमा माइभ्यालीका कप्तान सुवास राईले ५७औँ मिनेटमा गोल थप्दै आफ्नो गोललाई २–० अग्रता दिएका थिए ।

मध्यान्तरपछिको खेलमा माइभ्यालीकै थापाले ६४ औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित पारे । माइभ्यालीको दवावमा रहेको कास्कीका तर्फबाट ७९ औँ मिनेटमा उत्तम गुरूङ तथा ९१ औँ मिनेटमा रञ्जित गुरूङले एक एक गोल गरे पनि टोलीको जीत जोगाउन सकेनन् ।

यही वैशाख १७ गते सम्पन्न हुने प्रतियोगिताको प्रदेश नं १ का प्रदेशसभा सदस्य राम रानाले उद्घाटन गरेका थिए । शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ र काबराम प्रगति संघ बंगलादेशबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा क्लब काठमाडौं, सिक्किम युनाइडेट, त्रिभुवन आर्मी क्लब, काबराम प्रगति संघ, एपिएफ, रमपम झापा–११, दुर्गापुरस्टिल भारत, नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेताले पाँच लाख रुपियाँ र उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्ने माइभ्यालीका अध्यक्ष धीरेन चेम्जोङले बताए ।

Advertisement

Advertisement

Advertisement