काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र चेकजाँस पार गरी बाहिरिएपछि पक्राउ परेको ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीका अर्को एक उच्च अधिकारी फेरि तानिएका छन् ।
उक्त प्रकरणको अनुसन्धानका लागि पूर्व डीआइजी गोविन्द निरौला पक्राउ परेका छन् । उनलाई आइतबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । सोधपुछका लागि उनलाई पक्राउ गरिएको भन्दै गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलले निरौला पक्राउको पुष्टि गरेका छन् ।
छानविन समितिले यसअघि त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआइजी निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खानाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्चार्ज हुँदा तस्करलाई सघाएको आशंकामा सरुवा गरिएका निरौला पहिलेदेखि सुन तस्करी प्रकरणमा निगरानी रहे पनि प्रहरीले पक्राउ भने गरेको थिएन । यसअघि छानबिन टोलीले उक्त प्रकरणमा जोडिएका तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाएर बयान लिएको थियो ।
सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले ३३ किलो सुन तस्करी प्रकरण रहस्यमय बन्दै आएको बेला एकपछि अर्को प्रहरी अधिकारीहरु तानिदै गएका हुन ।
लोहनीले आफ्नो मातहतका प्रमुख एआइजी जयबहादुर चन्दलाई नसोधी गत फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पुगेको थियो । विराटनगर पुगेको लोहनी नेतृत्वको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गरिएको भनिएको शबलाई विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेको थियो ।
उनीहरुको उक्त क्रियाकलापले सुन तस्करी घटनालाई शंकास्पद बनाउँदै लगेको थियो । साथै, गत माघ ९ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब बनाइएको थियो ।
यसै प्रकरणमा छानबिन समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महावीर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
छानविनकै क्रममा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत भित्रको शौचालयमा नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले रहस्मय आत्महत्या गरेपछि घटनालाई थप रहस्यमय बनाएको थियो ।