एयरपोर्ट सुनकाण्ड थप रहस्यमय बन्दै, प्रहरीले भन्सारलाई दोषी ठहर्यायो

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरएको घटना दिन प्रतिदिन थप रहस्यमय बन्दै गएको छ । विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर यति ठूलो परिणाममा सुन बाहिरिएको घटनामा सरकारमै मन्त्रीहरुसमेत संलग्न नरहेको संलग्नताको आशंकाले रहस्यमय भएको हो । 

यस प्रकरणमा अर्थमन्त्री कृष्णबहादुर महरासमेतको संलग्नताको आशंका गरिए पनि महराले भने उक्त सुन आफ्नो नभएको दावी गरेका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिले सुरक्षा निकाय र भन्सार विभागसँग छलफल गरेको छ । गत बिहीबार भन्सार छलेर पिङ्गलास्थान पुर्याइएको उक्त परिमाणको सुन केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बरामद गरेपछि विमानस्थलबाट भइरहेको सुन तस्करीबारे छलफल गर्न मंगलबार अर्थ समितिले बैठक बोलाएको थियो ।

Advertisement

बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिले आफूहरुलाई भन्सारको सुरक्षा जाँचमा सहभागी नगराइने गरेकाले सोको जिम्मा भन्सारले लिनुपर्ने बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलको भन्सारमा समेत आफूहरुलाई चेकजाँच गर्ने अधिकार दिइनुपर्ने बताए ।  

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारबाही गरिने बताउँदै सो बारे छानबिन समिति गठन गरिएको जानकारी गराए ।  

अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले सुन तस्कारको जालो ठूलो रहेको भन्दै सोही कारण केही व्यवसायीले नेपाल राष्ट्र बैंकमार्फत सुन नकिनी तस्करसँग किन्ने गरेको तर्क गरे । अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीको घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाए ।

समितिका सदस्य हरिलाल ज्ञवालीले सुन तस्करीबारे मंगलबार प्रारम्भिक छलफल भएको र भोलि पुनः यही विषयमा बैठक बसी निर्णय लिइने जानकारी दिए । साँसदहरुले भने सुन तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको र त्यसलाई राजनीतिक संरक्षण भएकाले विमानस्थलबाट सजिलै सुन बाहिर ल्याउन सफलता मिलेको भन्दै यसको स्वतन्त्र छानविन हुनुपर्ने बताएका थिए । 

Advertisement

Advertisement