काठमाडौंः त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हालै ठूलो परिणाममा भएको अबैध सुन तस्करीको छानविन गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठनका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
गत साता विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर ३३ किलो अवैध सुन तस्करीमा सरकारकै मन्त्रिहरुको संलग्नताको कुराहरु आएपछि समितिले अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्न संसदको अर्थसमितिले निर्देशन दिएको हो ।
सुन तस्करीमा संलग्न गिरोह एवं व्यक्तिहरुको बारेमा तत्काल छानविन गरी त्यस्ता व्यक्तिहरुलाई संगठित अपराध अन्तर्गत कडाभन्दा कडा कारवाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पुर्याउने कर्मचारीहरुलाई विभागिय र अन्य आवश्यक कारवाही गर्न समितिले निर्देशन दिएको छ ।
त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरुको मात्र प्रहरी चेक जाँच हुने र आगमनमा प्रहरीद्वारा कुनै पनि चेकजाँच नहुने भएकोले विमानस्थलमा पर्याप्त र भरपर्दो चकेजाँचको व्यवस्था मिलाउन पनि भनिएको छ । प्रहरीले सुन तस्करी हुनुमा आफूहरुलाई चेक जाँचको अनुमति नदिनु प्रमुख कारण हो भन्दै भन्सार कार्यालयलाई दोषी ठहर्याएकाले समितिले त्यस्तो निर्देशन दिएको हो ।
त्रिभुवन विमानस्थलमा हुने राजश्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिबृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायहरुबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेशिनसहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउँदै विमानस्थलको आधुनिकीकरणको काम तीब्ररुपमा अघि बढाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले ३३ किलो सुन प्रकरणको गोप्य अंगले अनुसन्धान जरुरी रहेको भन्दै नत्र तस्करहरु उम्कनसक्ने तर्क गरे । छलफल धेरै गरेर सुन तस्करीको अनुसन्धानलाई कमजोर बनाउन नहुने उनको भनाई थियो ।
मन्त्री निधिले सुन तस्करीको अनुसन्धान गर्न नेपाल प्रहरीको अनुसन्धान ब्यूरो आफै सक्षम रहेको भन्दै छानबिन समिति अनुसन्धान गर्नभन्दा पनि प्रचारमा बढि रमाउने गरेको विगतका अनुभव रहेकोले त्यसमा जान नहुने बताए ।