खजुरा (बाँके): नेपालगन्जमा एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किंदै गरेका खजुराका दिनेश कँडेलको पैसा भएको झोला लुटेराले लुटेका हुन ।
सोमबार अपरान्ह् लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् । मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कंदा झोला हराएको कँडेलले बताए ।
वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको दुई लाख ६५ हजार र आफूसँग झोलामा भएको एक लाख रुपियाँ लुटिएको जिकिर गरे । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।