ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

Advertisement

नुवाकोटः बचतकर्ताबाट संकलन भएको लाखौँ रुपियाँ ठगी गरेको आरोपमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले ठगी मुद्दा चलाएको छ ।

विदुर नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेलविरुद्ध सहकारी संस्थाका बचतकर्ताको लाखौँ रुपैयाँ ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीको आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

प्रहरीको अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरूले जम्मा गरेको पाँच लाख रुपियाँभन्दा बढी रकम फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करिब दश रोपनी जग्गा सहकारी बैंकमार्फत १४ लाख रुपियाँ ऋण लिएर लिलामीको अवस्थामा पुर्याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीको आधारमा प्याकुरेलमाथि कारबाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करिब ६० लाख रुपियाँ लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको देखिएको छ,” प्रहरी निरीक्षक शाहले भने– “सहकारीका अध्यक्ष कारबाहीको दायरामा तानिएपछि थप अरुको पनि मिलेमतो पाइएकाले संलग्नहरुलाई नियन्त्रणमा लिन लागिएको छ ।”

Advertisement

Advertisement

Advertisement