भक्तपुरः नेक्सस् क्रिकेट एकेडेमी (एनसिए)को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गतेसम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको जनाएको हो ।
यो प्रतियोगिता लिग तथा नकआउटको आधारमा सञ्चालन गरिनेछ । आयोजक समितिका संयोजक एवं अध्यक्ष भरत शाहीले प्रतियोगिता सर्टिफाइड अप्पायहरुले आइसिसिद्वारा निर्धारित नियमअनुसार खेलहरु सञ्चालन हुुने बताए ।
हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लबहरुमध्येबाट न्यूनतम ३२ टिमका ४४८ खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा आठ टिमहरु हुने र हरेक टिमले लिग चरणमा ७/७ खेलहरु खेल्नेछन् ।
यू–१६ का मात्र खेलाडीहरु सहभागी गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टिमले प्रतिटिम तीस हजार रुपियाँ सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको उनले जानकारी दिए ।
उनका अनुसार करिब ५८ लाख रुपियाँ लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई एक लाख ५० हजार रुपियाँ नगदसहित वेइनर ट्रफी, दोस्रो हुनेलाई एक लाख रुपियाँ नगदसहित रनर अफ ट्रर्फी, तेस्रो हुनेलाई भ्यान अफ द सिरिजसहित २० हजार रुपियाँ र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजार रुपियाँसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजार रुपियाँसहित मेमेन्टो, वेस्ट ब्यास्टमेनलाई १० हजारसहित मेमेन्टो र भ्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको छ ।
नेपाली क्रिकेटलाई तल्लोस्तरको उमेरदेखि योग्य प्रशिक्षकद्वारा आवश्यक तालिम र एक्सपोसरको लागि यस्ता प्रतियोगिताहरु उपयोगी हुने भन्दै आयोजकले यसले एकातिर बालबच्चाहरुको क्रिकेट खेल्ने दक्षताको विकास गर्न सहज हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।