फुटबल महारथी अर्जेन्टिनाको लज्जास्पद हार, म्याराडोनाको आँखामा आँशु, मेस्सीका फ्यान निराश

Advertisement

काठमाडौंः दक्षिण अमेरिकी टिमलाई अहिलेसम्म हराउन नसकेको क्रोयसियाले फुटबलको महारथी अर्जेन्टिनालाई लज्जास्पद ढंगले हराएको छ ।

बिहीबार राति भएको खेलमा पटक पटक विश्वकप फुटबल जित्न सफल अर्जेन्टिनालाई शुन्यका विरुद्ध तीन गोलले हराउँदै क्रोयसियाले समूह चरण पार गर्न सफल भएको हो । अर्जेन्टिनाको फितलो प्रदर्शनसँगै एकपछि अर्को गोल खाएपछि दर्शकदिर्घामा बसेका उसका फ्यानहरु निराश बनेका थिए भने आफ्नो टिमलाई हौसला दिन पुगेका चर्चित पूर्वफुटबलर म्याराडोनाले आशु थाप्न सकेनन् ।

समूह डी को दोस्रो खेलमा अर्जेन्टिनाले निकै निराशाजनक प्रदर्शन गरेको छ भने उदयमान टिम क्रोयसियाले प्रभावशाली प्रदर्शन गर्दै आफूलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ । यसअघि आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले आजको खेलमा राम्रो प्रदर्शन गर्ने धेरैको आशा थियो । तर, त्यसको ठिक विपरित क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको छ ।

आजको हारसँगै अर्जेन्टिनालाई समूह चरण पार गर्न पनि निकै मुस्किल हुने भएको छ । क्रोयसियाले दुई खेलमा जित हासिल गरी छ अंकसहित समूह चरण पार गरेको छ भने अर्जेन्टिना र आइसल्याण्ड एक एक अंकमा सीमित छ । समूह डी मा नाइजेरिया शुन्य अंक छ ।

समूह चरणको बाँकी एक खेलमा अब अर्जेन्टिनाले नाइजेरियासँग खेल्ने छ भने आइसल्यान्डले क्रोएसियासँग खेल्नेछ । अर्जेन्टिना र आइसल्याण्ड एक एक अंकसहित बराबरीमा छन् भने नाइजेरिया शुन्य अंकमा सीमित छ । क्रोएसियाले आइसल्यान्डलाई हराएको अवस्थामा र अर्जेन्टिनाले नाइजेरियालाई बराबरीमा रोके मात्रै उ समहू उपविजेता हुँदै अन्तिम १६ मा पुग्नेछ ।

सन् १९५८ यता पहिलो पटक विश्वकपको समूह चरणमा फराकिलो हार ब्यहोरेको अर्जेन्टिनाका विशेषगरी लियोनेल मेस्सीका समर्थकहरु निराश भएका छन् । क्लबको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अर्जेन्टिनाका चर्चित फुटबलर मेस्सीले समूह चरणका दुई वटै खेलमा आफूलाई सावित गर्न सकेनन् । उनले यसअघि आइसल्याण्डविरुद्धको खेलमा पेनाल्टी मिस गर्दा आलोचित हुन पुगेका थिए ।

अर्जेन्टिनाको लज्जास्पद हारमा कमजोर डिफेन्सका साथै गोलकिपरको कमजोरी पनि कारण देखिन्छ । अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोले गल्ती गर्दा क्रोएसियाले पहिलो गोल गर्ने मौका पाएको थियो । काबाल्लेरोले डी बक्सभित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिक नजिकै फ्यालेपछि क्रोयसियाले मौका छोपेर गोल गरेको थियो ।

त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका क्रोयसियाका लुका मोड्रिचले र ९१औं मिनेटमा बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले गोल थपेका थिए ।

Advertisement

Advertisement

Advertisement