वीरगंज । ‘फेमिली’ तोरीको तेलको उत्पादन तथा बिक्री गर्दै आएको बाराको शिवशक्ति रिफइनरीमा प्रशासनले शिलबन्दि गरेको छ । फेमिली ब्राण्डमा अखाद्य वस्तु मिसाइएको भन्दै स्थानीय प्रशासनले शिवशक्ति रिफाइनरीको गोदाममा छापा मारी शिलबन्दि गरेको हो ।
फेमिली ब्राण्डको तेलमा गुणस्तर ठीक नभएको भन्दै प्रहरी प्रशासनमा उजुरी परेपछि छानबिन थालिएको बाराका सिडिओ गणेश भट्टराईले जानकारी दिए । बारा जिल्ला प्रशासनले तेल नियन्त्रणमा लिई गुणस्तर जाँचका लागि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय हेटौंडामा स्याम्पल पठाइएको उनले बताए ।
नमुना परीक्षणको प्रतिबेदन नआएसम्म शिलबन्दि गरिएको उद्योगको गोदाम र थोक बिक्रीमा प्रशासनले रोक लगाएको छ ।
बाराको नितनपुस्थित त्रिवोणी टेक्सटायल्सको मजदुरहरुको लागि सञ्चालित क्यान्टिनले खरिद गरेको ४८ कार्टुन फेमिली तोरीको तेलको रङ र बास्ना फरक परेपछि क्यान्टिन सञ्चालकले सिमरा प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
उजुरीपछि बारा जिल्ला प्रशासनले आवश्यक छानबिनका लागि छापा मारेको थियो । गुणस्तर तथा नापतौल विभागका कर्मचारी सम्मिलित टोलिले छापा मार्ने क्रममा उक्त तेलमा अखाद्य वस्तु मिसाइएको आशंका गर्दै फेमिलीको उक्त ब्याचका उत्पादन बिक्री वितरणमा रोक लगाउनुकासाथै फेमिली तेलको गोदाममा शिलबन्दि गरेको छ ।
त्यस्तै फेमिली तेलको थोक बिक्रेता जितपुरस्थित हनुमान सप्लायर्समा पनि एक सय ६५ कार्टुन तेलमा शिलबन्लि लगाएको छ ।