निर्मलाको बलात्कार र हत्या योजनावद्ध, भीआइपीहरु निर्मलाको घरमा

Advertisement

काठमाडौं । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्।

‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’

निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन्। सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन्।

पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने उनको भनाइ छ।

‘घटनापछि अपराधीले केही न केही प्रमाण छोड्छ’, एसपी कडायतले भने, ‘पानी बगाएको ठाउँमा भए पनि केही न केही आधार पाइएला ।’ डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा उनी विश्वस्त छन्।

प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ। ‘अदालतबाट म्याद थप गरेर सोमबारदेखि उनीहरूसँग बयान लिन सुरु गर्नेछौं ।’ शनिबार र आइतबार बिदा भएकाले उनीहरूसँग बयान नलिएको उनले बताए।

घटनास्थलको सुरुको अवस्था थाहा पाउन अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानलाई अध्ययन गरिरहेको उनले बताए। यसअघिका प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइब) टोलीले घटनाबारे अनुसन्धान गर्न आनाकानी गरेकाले स्थानीय बासिन्दाले महेन्द्रनगरमा प्रदर्शन गर्दै आएका छन्।

आजको नागरिक दैनिकबाट ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी सुरुदेखि नै सामाजिक प्रतिष्ठा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको पछि लागेको छ । प्रहरीले भनेजस्तै भोलि दिलीपसिंह विष्ट नै दोषी ठहरिन सक्छन्, तर यसअघि पनि प्रहरीले यस्तै दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

घटनाको तेस्रो दिन अर्थात् १३ साउनमा डिएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पुगेको थियोे । त्यसअघि नै ११ साउनमा कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ परेका थिए ।

डिएसपी जिसीका अनुसार दीपक गम्भीर प्रकृतिका यौनरोगी थिए भने जीवनको मानसिक सन्तुलन असामान्य थियो । जीवनले त निर्मलाको हत्या आफूले नै गरेको दाबी गरेका थिए । उनले प्रहरीलाई बयान दिएका थिए, ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको हत्या घाँटी निमोठेर भएको थियो । तर, यस्तो फितलो अनुुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा संसद्मा बोले, ‘बलात्कार र हत्यामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ तर, गृहमन्त्रीले संसद्मा बोल्दा–नबोल्दै जीवन र दीपक हिरासतबाट छुटिसकेका थिए ।

घटनाका २५ दिनपछि ४ भदौमा प्रहरीले भीमदत्त नगरपालिका–१९ का ४२ वर्षे दिलीपसिंह विष्टलाई आरोपीका रूपमा सार्वजनिक गर्यो । तर, यी विष्ट पनि मानसिक अवस्था असामान्य भएका परे । आफ्नै भिनाजु हत्याको अभियोगमा उनी ०६५ मा जेल परेका थिए र गत वर्ष गणतन्त्र दिवसका तत्कालीन प्रजिअको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर जेलबाट छुटेका थिए ।

प्रहरीले विष्ट नै दोषी भएको दाबी गरिरहेको छ भने स्थानीयले अस्वीकार गर्दै आन्दोलन चर्काए ।
दिलीपका पिता आइतबार निर्मलाको परिवारलाई भेट्न पुगे । ‘उनले रुँदै मेरो छोराको कुनै गल्ती छैन भने । हामीलाई पनि घटनामा ऊ संलग्न छ भन्नेमा विश्वास छैन,’ निर्मलाका पिता यज्ञराज पन्तले भने । ८२ वर्षे कमलसिंह विष्टका अनुसार ८ कक्षामा पढ्दा नै दिलीप गाँजा–चरेसको लतमा परेका थिए । छिमेकी कर्ण विष्ट त यसपटक मात्र होइन, अघिल्लोपटक भिनाजुको हत्यामा पनि दिलीप परिबन्दमा परेको हुन सक्ने अनुमान गर्छन् ।

पिता कमलसिंह र छिमेकी कर्णका अनुसार दिलीप लागुऔषधको सिकार भएका थिए । ‘तर, हाम्रै घरमा आएका वेला चिया, खाना दिँदा पनि महिलाको हातबाट सीधै लिँदैनथ्यो । भुइँमा राखिदिनु भन्थ्यो,’ उनले भने । पिता कमलसिंह थप्छन्, ‘मेन्टल हो मान्छु, तर मैले हिरासतमा भेट्दा यो हत्यामा मेरो कुनै हात छैन भनेको थियो । घरमै पनि महिलासँग चिया, खाना सीधै हात छोएर लिँदैनथ्यो ।’

हरेक समय गाँजा, चरेस र रक्सीको नसामा हुन्थे दिलीप । बाटोमा मोटर, मोटरसाइकल र साइकल देखे परैदेखि छेउ लागेर उभिन्थे । पिता कमलसिंहका अनुसार दिलीपलाई पक्राउ गर्नु अघिल्लो दिन ३ भदौमा नासपाती किन्ने बहानामा प्रहरीका दुईजना सुराकी घरमा आएका थिए । जग्गा खोज्दै हिँडेको पनि भन्दै थिए । अनि घरपछाडि सुकाउन राखिएको दिलीपको सर्टको केही भाग च्यातेर लगेका थिए । दिलीपलाई पक्राउ गरेपछि ४ भदौमा प्रहरी फेरि घटनास्थल पुग्यो । त्यहाँ दिलीपको सर्टको कपडाको टुक्रा र कन्डम फेला परेको थियो । ‘यसबीच धेरै पानी पर्यो, खोलामा बाढी आयो ।

तर, सर्टको टुक्रा र कन्डममा कुनै हिलोमैलो थिएन,’ निर्मलाका पिता यज्ञराज भन्छन् । सिआइबीका डिएसपी जिसी भने दिलीपको यौन आसक्ति उत्कर्षमा रहेको कुरा बयानका क्रममा पाएको बताउँछन् । ‘अलि असामान्य देखिन्छन्, तर उनको बयान असामान्य छैन । र जतिपटक सोध्दा पनि नबिराई उही कुरा दोहोर्याउँछन् । फरेन्सिक र डिएनए स्याम्पल परीक्षणको अन्तिम नतिजा आएपछि धेरै कुरा स्पष्ट होला । तर, अहिलेसम्मको घटनाक्रम हेर्दा उनी घटनाको केन्द्रमा छन् । बाहिर उनीबारे जे टिप्पणी भए पनि कम उमेरकासँग यौनसम्पर्क गर्न आफूलाई रुचि भएको उनले बयानमा बताएका छन्,’ उनले भने । दिलीप अविवाहित हुन् ।

सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बेग्लै उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । स्थानीयको आशंकाको केन्द्रमा रहेका रोशनी र बबितालाई पनि प्रहरीले हिरासतमा लिएको छ । बम दिदीबहिनीका पिता दीपेन्द्रबहादुर बम जनविकास माविका शिक्षक र आमा दुहुँ गाउँपालिका–३ को सचिवका रूपमा दार्चुलामै बस्दै आएका छन् । दुवैले आफ्ना छोरीहरूलाई जबर्जस्ती फसाउन खोजेको बताइरहेका छन् । ‘भोलि हाम्रा छोरीमाथि अर्को दुर्घटना भयो भने को जिम्मेवार हुन्छ ? भिडको दबाबमा हाम्रा निर्दोष छोरीहरूलाई गिरफ्तार गरिएको छ,’ उनीहरूको गुनासो छ ।

छोरी खोज्न जाँदा घरभित्रै पस्न नदिएका कारण पनि पन्त परिवारको आशंका बबितामाथि बढी छ । ‘पहिलेका एसपी डिल्लीराज विष्टले कहिले बाहिरै सामूहिक बलात्कार गरेर त्यहाँ लगेर फालिएको हो भने त कहिले त्यहीँ एकजनाले बलात्कार गरेको हो भने,’ निर्मलाका पिता यज्ञराज भन्छन्, ‘अनि मलाई दिलीप नै मुख्य अपराधी हो, किटानी जाहेरी देऊ भनेर दबाब पनि दिए । प्रहरीको भूमिका जहिल्यै शंकास्पद रह्यो ।’ बबिताकै घरमा घटना भएर निर्मलालाई पछि बाहिर लगेर फ्याँकिएको पन्त परिवारको आशंका छ ।

तर, घरअगाडिकै छिमेकी देवकी भट्टका अनुसार उनी १० साउनको साँझ ७ बजेतिर बबिताको घरमा पुगेकी थिइन् । अम्बा खान गएकी उनकी नाबालक छोरी रोशनीसँग टिभी हेर्दै नाच्दै बसेकी थिइन् । उनी पुगेको केहीबेरमा बबिता पनि आइपुगिन् । निर्मलाको शवको छेउ केही अम्बा पनि फेला परेको थियो, जुन बबिताको घरको थियो । पछि बम परिवारले अम्बाको बोटै काटिदियो । यसकारण पनि उनीहरूप्रति पीडित परिवार र स्थानीयको आशंका छ । तर, बबिताका पिता दीपेन्द्रबहादुर बम भन्छन्, ‘बाटो हिँड्ने जोकोहीले पनि ढुंगा हान्ने र अम्बा टिप्न पर्खाल नाघेर भित्र पस्ने गरेकाले काटिदिएको हो ।’

सरुवा भएर आएका नयाँ प्रजिअ तारानाथ अधिकारी र एसपी कुवेर कडायतले आइतबारबाट मात्रै काम थालेका छन् । त्यसैले घटनाबारे पूर्ण विवरण जुटाउन लागिपरेका छन् । आइतबार त नेताहरूको सत्कार र उनीहरूसँगको छलफलमै बित्यो उनीहरूको । एसपी कडायत भन्छन्, ‘धेरै बुझ्नै बाँकी छ । हामी जिरोबाट फेरि अनुसन्धान सुरु गर्छौँ । घटनास्थलको मुचुल्का लिन्छौँ । पुरानो अनुसन्धान र बयान सन्दर्भ सामग्रीका रूपमा मात्र रहनेछन् ।’

निर्मलाको घरमा भिआइपीको भिड
बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा भिआइपीहरूको घुइँचो लाग्यो । प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य तथा कैलालीका सांसद लेखराज भट्ट, कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट र नरबहादुर धामी, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह निर्मलाको घर पुगे । निर्मलाका माता–पितासँग उनीहरूको सामूहिक भनाइ थियो, ‘हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ । निर्मलाले न्याय पाउनुपर्छ र अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा आउनेछन् ।’

सत्तारुढ नेताहरू फर्किएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारलाई भेटे । लगत्तै नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्णराज ओझा, सशस्त्रका एसपी, सेनाका कर्णेलसमेत निर्मलाको घरमा पुगी परिवारजनसँग छलफल गरे ।

एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर
निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र घुम्ने गर्दथे । उनीहरू दुवै दाजुभाइलाई सुजित बंगाली ठेकेदारले मार्बल लगाउने काम लगाएका थिए ।

झन्डै डेढ महिनाअघि कञ्चनपुरका विभिन्न स्थानमा मार्बल लगाउने काम गरेबापत सन्नीले पाँच र उमेशले तीन हजार रुपैयाँ लिनुपर्ने थियो । शुक्रबारको गोलीकाण्ड सम्झँदै सन्नीका दाजु उमेश भन्छन् –हामी दाजुभाइ मात्र होइन साथीजस्ता थियौँ । सँगै मजदुरी गथ्र्यौँ । करिब डेढ महिनाअघि सुजित बंगाली ठेकेदारमार्फत हामीले जिल्लाका विभिन्न ठाउँमा मार्बल ओछ्याउने काम गरेका थियौँ । सन्नीको पाँच हजार र मेरो तीन हजार लिन बाँकी थियो । १० गते रक्षाबन्धन थियो ।

त्यसको तयारीका लागि हामी ८ गते ठेकेदारसँग बाँकी पैसा माग्न गएका थियौँ । बिहान पानी परेकाले दिउँसो खाना खाएर दाजुभाइ घरबाट निस्कियौँ । ठेकेदार नभेटिएपछि बजार घुम्दै थियौँ । माथि चम्मनचोकदेखि आन्दोलनकारी ट्राफिक चोकतिर गए । हामी पनि त्यतै लाग्यौँ । मैले साइकल र मोबाइल सन्नीको हातमा दिएको थिएँ ।

सन्नी र म सँगै आन्दोलन हेर्दै थियौँ । ट्राफिक चोकमा ढुंगामुढा भइरहेको थियो । पछि सन्नी भिडमा हरायो । एकैछिनमा ट्राफिक कार्यालयको छतबाट प्रहरीले गोली चलायो । म भागेर पुनः ठेकेदार बस्ने ठाउँमा पुगेँ । सन्नी पनि भाग्यो होला भन्ने सोचेँ । एकैछिनमा गोली लागेर एकजनाको मृत्यु भएको सुनेँ । मैले सन्नीलाई फोन गरेँ, तर उठेन । एकैछिनमा फोन अफ भयो । त्यहीबीचमा मैले एकजना दाजुको मोबाइलमा भाइको फोटो देखेँ । त्यसमा उनको त गोली लागेर मृत्यु भयो भन्ने लेखिएको थियो । म रुँदै घरतिर लागेँ ।

इन्जिनियरिङ तयारी गरिरहेका भण्डाराको अझै होस खुलेन
आन्दोलनका क्रममा बिहीबार गोली लागेर गम्भीर घाइते भएका २० वर्षीय अर्जुन भण्डाराको अझै होस खुलेको छैन । घुँडामुनि गोली लागेका उनको स्वास्थ्य अत्यधिक रक्तस्रावका कारण अझै गम्भीर छ । काठमाडौंको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उपचाररत भण्डारालाई १७ पिन्ट रगत दिइसकिएको छ । चिकित्सकले थप रगत आवश्यक पर्न सक्ने भन्दै जोहो गर्न भनेका छन् ।

१२ कक्षाको परीक्षा सकेर इन्जिनियरिङको तयारी गरिरहेका भण्डारा आन्दोलन हेर्न पुगेका थिए । भाइको उपचारमा प्रहरी प्रशासनले कुनै चासो नदिँदा काठमाडौं ल्याउन ढिला भएको दाइ योगेन्द्र भण्डाराले बताए । ‘अवस्था गम्भीर छ, काठमाडौं जाँदै छ भन्ने प्रहरीलाई थाहा थियो, तर विमानस्थलबाट अस्पतालसम्म लैजान एम्बुलेन्सलाई खबरसमेत गरिदिएन । काठमाडौं ओर्लेर पनि एम्बुलेन्स नपाउँदा डेढ घन्टासम्म विमानस्थलमै कुर्नुप(यो,’ उनले दुखेसो पोखे । चिकित्सकले अस्पताल ल्याउन ढिला भएको र अत्यधिक रक्तस्रावका कारण गोली लागेको ठाउँको मांसपेशी मरिसकेको जनाएको उनले बताए ।

त्यस्तै भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । देउवाका काका वीरेन्द्र देउवाले उमेशको खुट्टा, कोखामा गोली लागेको बताए । उनको खुट्टाको शल्यक्रिया गरिएको छ भने कोखामा लागेको गोली निकाल्न पनि शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गोली लागेर घाइते भएका सरेन्द्र चटौत, चेतन भट्ट, दामोदर खाती, कवीन्द्र सिंहको अवस्था गम्भीर भएकाले थप उपचारका लागि रेफर गरिएको थियो । उनीहरू विभिन्न अस्पतालमा छन् ।
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement