बजेट कार्यान्वयनमा चुनौती

Advertisement

काठमाडौंः आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताए । बजेटमा आएका कतिपय कार्यक्रम महत्वकांक्षी भएको भन्दै उनीहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गरे ।

सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट समाजवाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताए ।

सांसद गगनकुमार थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै भने, ‘थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव खड्किएको छ । कार्यान्वयनमा समस्या आउँछ ।’

पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उहाँले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिए । सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभावसमेत बजेटमा रहेको आरोप लगाए ।

सांसद नवीना लामाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट आएको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

सांसद प्रदीप गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने बताए ।

सांसद लीला श्रेष्ठले बजेटले आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको भन्दै ऊर्जा, कृषि, हवाई क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे । सांसद देवप्रसाद तिमिल्सिनाले निर्वाचनमा वाम गठबन्धनले गरेको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै सरकारको आलोचना गरे ।

सांसद पार्वता डिसीले संघीयताको मर्म र भावनाविपरीत बजेट आएको भन्दै कम्युनिष्ट सरकारले अल्पसंख्यक, आदिवासी, जनजाति, महिला, दलित कोही कसैलाई पनि नछोएको भन्दै आलोचना गरे ।

सांसदहरु समिना हुसेन, अतहरकमाल मुसलमान, मोहन आचार्य, तुलसा थापा, रंगमती शाहीले बजेटले अगाडि बढाएका कार्यक्रम केही सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।

देशका आर्थिक आधार तयार गर्नका लागि बजेट महत्वपूर्ण भएको भन्दै उहाँहरुले बजेटले रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा जोड दिएको बताए ।

Advertisement

Advertisement

Advertisement