'जेएफए'ले शनिबार निःशुल्क ‘फुटवल वर्कशप’ सञ्चालन गर्दै

Advertisement

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले फुटबल वर्कशपको आयोजना गर्ने भएको छ । फुटबलका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानबारे जानकारी दिनको लागि एकेडेमीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

चैत २ गते (शनिबार) दिउँसो २ बजेदेखि काठमाडौँ बालुवाटारस्थित एक्सेल फुट्सलमा सञ्चालन हुने वर्कशपमा फुटबल खेलाडीको लागि ट्रेनिङको महत्व, फुटबलका नियम तथा सिद्धान्त, अनुशासन, फुटबलमा फिजियोको महत्व, प्रशिक्षकले बनाउने रणनीतिको बारेमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा हुने आयोजक संस्थाका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले बताए । साथै उनले प्रशिक्षणमा भाग लिनको लागि फर्म शुल्क १ सय रुपैयाँ तोकिए पनि इच्छुकहरुले एउटा फर्म भरेर निःशुल्क वर्कशपमा भाग लिन सक्ने बताए ।

उनका अनुसार वर्कशपमा एएफसी ए ग्रेड लाइसेन्स प्राप्त प्रशिक्षक, राष्ट्रिय रेफ्री तथा फिजियोबाट कक्षा सञ्चालन हुनेछ भने प्रशिक्षणमा भाल लिनेले प्रमाणपत्र पनि पाउनेछन् । साथै सहभागीमध्ये ६ जनालाई एक महिनासम्म जेएफएले निशुल्क ट्रेनिङ समेत प्रदान गर्ने जेएफएले जनाएको छ । खेलस्तरको साथसाथै खेलाडीहरुको अनुशासन, एडप्टेसन, क्षमता लगायतको आधारमा जेएफएले छात्रावृत्ति दिन लागेको हो ।

वर्कशपमा भाग लिनेले एकेडेमीको वेभसाइटमा गएर फर्म भर्न सक्नेछन् भने सोही दिन निर्धारित समयभन्दा चाँडै आएर फर्म भर्न सक्ने जेएफएले जनाएको छ ।

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ ।

हाल जुनियर फुटबल एकेडेमीमा १४५ भन्दा बढी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमी काठमाडौँ उपत्यकाको बालुवाटार, सानेपा, पेप्सप्कोला, शान्तिनगरमा संचालन आइरहेको छ । एकेडेमीले जेहेन्दार, अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement