पोखरा । ड्राइभिङ प्रशिक्षण केन्द्रका थोत्रा गाडी र मोटरसाइकल अचेल पोखरा रंगशालाभित्र देखिँदैनन् । आर्किटेकको डिजाइनमा तयार भएको भव्य गेटबाट छिर्नेबित्तिकै देखिन्छन्, कालोपत्रे सडक, हुर्कंदै गरेका हरिया रुख र भव्य कभर्डहल । नाला खनिरहेका मजदुर, मैदान सम्याइरहेका डोजरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी झल्काउँछ । सागसँगै पोखराले पाउँदैछ सुविधासम्पन्न रंगशाला ।
चार सय १७ रोपनीमा फैलिएको रंगशाला देशकै ठूलो हो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले २०३१ सालमै रंगशालालाई जग्गा अधिग्रहण गरे । पूर्वाधार भने ९ वर्षपछि मात्रै बन्न सुरु गर्यो । २०४० चैत १२ देखि २० सम्म पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना हुँदा केही पूर्वाधार बने । भीआईपी प्यारापिटसहितको फुटबल स्टेडियम, कभर्डहल, क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिको कार्यालय त्यतिखेर बने । मुलुकमा संक्रमणकाल लम्बिँदाको असर पोखरा रंगशालामा पनि पर्यो ।
पूर्वाधार निर्माण ठप्प भयो । सागसँगै पुनः पूर्वाधार निर्माणले गति लिएको हो । जग्गा अधिग्रहण भए पनि रंगशाला गौचरनको रूपमा थियो । रंगशालामा पर्खाल नहुँदा अतिक्रमणको चपेटामा पर्ने खतरा उत्तिकै थियो । २०५६ मा राखेप सदस्य–सचिव भएका पोखराकै विनोदशंकर पालिखेले मुआब्जा बाँडे । एक सय रोपनीजतिको मुआब्जा भने जग्गाधनीले अझै बुझेका छैनन् । जग्गाको समयसापेक्ष मूल्यांकन गरी मुआब्जा दिनुपर्ने उनीहरूको माग छ । यद्यपि संरचना बनाउन उनीहरूले कुनै रोकटोक गरेका छैनन् ।
कान्तिपुर दैनिकबाट ।