काठमाडौं । पाकिस्तानले आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली क्रिकेट टोलीसामु ३२७ रनको चुनौती प्रस्तुत गरेको छ ।
संयुक्त अरब इमरेट्स (युएइ)को आबुधाबीस्थित शेख जायद रङ्गशालामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै ३२६ रन जोडेको हो । टेष्ट वारियतामा दोस्रो स्थानमा रहेको बलियो टोली पाकिस्तान इङ्ल्यान्डसँगको टेस्ट तथा एक दिवसीय शृङ्खलाका लागि युएइमा पुगेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को संयोजकत्वमा नेपालले पाकिस्तानसँग उक्त अभ्यास खेल खेल्ने मौका पाएको हो । त्यस्तै नेपालको यो दोस्रो अभ्यास खेलसमेत हो । यसअघि बिहीबार र शुक्रबार भएको दुई दिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले हङ्कङसँग बराबरी खेलको थियो ।
पाकिस्तानका लागि अजहर अलिले सर्वाधिक ७३ रनको योगदान दिए । त्यसैगरी सोयब मलिकले ६३, मोहम्मद हाफिजले ४९, बबर आजमले ४३, युनिस खानले ३८ र अहमद सेहजादले ३५ रन जोडे ।
बलिङतर्फ भने नेपालका वसन्त रेग्मीले दुई विकेट लिए भने कप्तान पारस खड्का र सागर पुनले समान एक एक विकेट लिए । नेपालले आइसिसी विश्व लिग क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनीसँग यही कात्तिक ३० गते र मङ्सिर २ गते खेल्नेछ । रासस