'म्याच फिक्सिङ'को अभियोग लागेकाहरुलाई फुटबलका सबै गतिविधिबाट आजीवन प्रतिवन्ध

Advertisement

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले म्याच फिक्सिङ (खेल मिलेमतोमा खेल्नु)को अभियोग लागेका नेपाल राष्ट्रिय फुटबल खेलाडी र प्रशिक्षकहरुलाई फुटबलका सबै खाले गतिविधिमा आजीवन प्रतिवन्ध लगाएको छ । 

म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसी अब सदाका लागि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक फुटबल खेल तथा गतिविधिमा सहभागी हुन पाउने छैनन् । एएफसीको अनुशासन समिति यस्तो कर्डा निर्णय गर्दै पाँचै जनाको खेल जीवनलाई पूर्णविराम लगाइदिएको हो । 

Advertisement

म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि प्रहरीले गत असोज २७ उनीहरुलाई पक्राउ गरी राज्यद्रोहको मुद्दा चलाइरहेको छ । एएफसीले यसअघि नै उनीहरुलाई निलम्बन गरिसकेको थियो । लामो अनुसन्धानपछि उनीहरुलाई फुटबल खेलबाट प्रतिवन्ध लगाइएको हो । 

सन् २००८ देखि २०१२ सम्म खेलिएका थुप्रै फुटबल खेलहरुमा उनीहरुले व्यक्तिगत आर्थिक लाभका लागि म्याच फिक्सिङ गर्ने गरेको अनुसन्धानबाट देखिएको एएफसीले आफ्नो विज्ञप्तिमा जनाएको छ । एएफसीको अनुशासन समितिले ताजिकिस्तानी रेफ्री मुर्ताजोएभ परविजलाई पनि म्याच फिक्सिङ गराउन खोजेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ । 

म्याच फिक्सिङमा संलग्न सबै खेलाडी र प्रशिक्षकलाई विशेष अदालतले गत कात्तिक २४ धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । पेशेवर म्याच फिक्सरहरुले उनीहरुलाई विभिन्न खेलमा हार्नका लागि रकम दिने गरेको अनुसन्धानबाट देखिएको हो । 

यसअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एनफा)का पूर्व अध्यक्षलाई अनियमितताको आरोपमा कारवाही गर्न खेल क्षेत्रबाट प्रतिवन्ध लगाएको थियो । 

Advertisement

Advertisement