साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नयाँ फुटबल टिमको घोषणा

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा गरेको छ । 

एन्फाले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नयाँ नेपाली फुटबल टिमको घोषणा गरेको हो । सागर थापा म्याच फिक्सिङ प्रकरणपछि फुटबल क्षेत्रबाट प्रतिवन्धित भएपछि गुरुङले नेपाली टिमको कप्तानी गर्ने मौका पाएका हुन । उनलाई मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले सोमबार कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।

Advertisement

उनको नेतृत्वमा खेल्ने नेपाली टिममा कप्तान गुरुङसहित जगजित श्रेष्ठ, विमल घर्ती मगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र नवीन लामा फर्वाडमा खेल्नेछन भने मिडफिल्डमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ तथा डिफेन्डरमा रञ्जित धिमाल, रवीन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जनले खेल्नेछन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी छन् । 

साफमा नेपाल आयोजक भारत र श्रीलङ्कासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बङ्गलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन । नेपालले पहिलो दिन श्रीलङ्कासँग तथा पुस १२ गते भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिपअघि नेपाली टोलीले पुस २ गते ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

राष्ट्रिय लिग सकेलगत्तै एन्फाले प्रारम्भिक चरणमा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चरणमा छनोट भएका २७ मध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टोलीबाट बाहिर रहेको बताइएको छ । रासस 

Advertisement

Advertisement