काठमाडौं । नवगठित विज्ञापन बोर्डका अध्यक्ष महेन्द्र शेरचनले ‘क्लिन फिड’ नीतिविपरित हिन्दी डबिङ विज्ञापनहरु प्रसारण गर्ने टेलिभिजनहरुलाई स्पष्टिकरण सोधिसकिएको बताएका छन् । बोर्ड विज्ञापन प्रसारण तथा प्रशारणमा नियामन गर्ने संस्था हो ।
डबिङ विज्ञापनहरु प्रतिस्थापन गर्न नयाँ विज्ञापन ऐनले नै विज्ञापन एजेन्सी र मिडियाहरुलाई एक बर्षको समय दिए पनि कानुनविपरित डबिङ विज्ञापन प्रसारण जारी राखिएको पाइएपछि आफूहरुले स्पष्टिकरण सोधको बताउँदै शेरचनले अहिलेसम्म कसैले पनि त्यसको जवाफ नदिएको बताएका छन् ।
उनले बोर्ड भर्खरै गठन भएकाले आफूहरु कार्यालयदेखि अन्य संरचना तथा पूर्वाधार तयार गर्ने काम लागेकाले पनि क्लिन फिड नीति नीतिका गतिविधि रोक्न र ऐनको प्रभावकारी कार्यान्वयनका लागि काम अघि बढाउन नसकेको बताउँदै अर्को हप्ता बोर्ड बैठक बसेर डबिङ विज्ञापन प्रसारणलगायतका विषयमा के गर्ने विषयमा निर्णय गरिने बताए ।
क्लिन फिड नीति कार्यान्वयन गर्ने भन्दै केवल टेलिभिजन सेवा प्रदायकहरुलाई विदेशी विज्ञापन हटाएर मात्रै च्यानलहरु प्रसारण गर्न लगाएको बेला टेलिभिजनहरुले भने खुल्लारुपमा भारतीय डबिङ विज्ञापनहरुको प्रसारण नरोकेपछि केवल तथा डिजिटल टिभी अपरेटरहरु रुष्ट भएका भएका छन् ।
डिजिटल टिभी अपरेटर एशोसियशनका अध्यक्ष तथा डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले क्लिन फिड मात्रै एक बर्ष ढिलो गरी लागू गर्ने कुरा भएको तर विज्ञापन ऐनका अरु कुराहरु एक बर्षअघि नै कार्यान्वयनमा आएको बताउँदै डबिङ विज्ञापनहरु त्यति नै बेलादेखि बन्द हुँदै जानुपर्नेमा अहिले पनि नरोकिनु र आफूहरुलाई मात्रै सरकारले पेल्नु पक्षपातपूर्ण व्यवहार भएको बताए ।
उनले फेसबुक, यूट्युबमा विज्ञापन रोक्न नसकेकोमा पनि उनले असन्तुष्टि पोखे । आचार्यले भने, ‘हामीलाई विज्ञापन गर्न पाइन्न भनेर रोक्ने, गुगल, फेसबुक, यूट्युबलाई नियन्त्रण गर्नुनपर्ने ? यो फेयर भएन् । हामीले रिस गरेको होइन्् । जो नियामनमा बसेको छ, जो स्वदेशमा जन्मिएको उद्योग छ, उस लाई चाहीं सरकारले पुच्छर निमोठ्ने, नबस्नेलाई केही पनि नगर्ने ।’