काठमाडौं । विदेशी च्यानलहरू विज्ञापनरहित प्रसारण गर्नुपर्ने नियमविपरित विदेशी विज्ञापन प्रसारण गर्ने केवल अपरेटर, एमएसओएस, एलसीओएस, आईपीटीभी, डीटीएच, आईएसपी तथा अन्य माध्यमहरूलाई तत्काल त्यस्तो प्रसारण बन्द गर्न विज्ञापन क्षेत्रको नियामक विज्ञापन बोर्डले चेतावनी दिएको छ ।
नियमविपरित सरकारलाई अटेर गर्दै विदेशी विज्ञापन प्रसारण गर्ने यस्ता सेवा प्रदायकहरूलाई बोर्डले ध्यानाकर्षण गराउँदै नटेरे कारवाही गर्ने स्पष्ट पारेको छ । बोर्डले बुधबार सार्वजनिक सुचनामार्फत विज्ञापन (नियमन) गर्ने ऐन, २०७६ को दफा ६ को उपदफा (१)मा ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ’ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै केही सेवा प्रदायकहरू विदेशी विज्ञापन प्रसारण जारी रहेको उजुरी आएपछि बोर्ड कारवाहीको तयारीमा अघि बढेको हो ।