काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ । यसअघि एटीआर–४२ र विचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट परीक्षण उडान गरेको हो ।
बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, कम्पनीका अपरेशन तथा टेक्निकल टिमसहित परीक्षण उडान गरेको जनाइएको छ । बहत्तर सिटे जहाजबाट तुम्लिङटारमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
उनका अनुसार यसअघि पाँच हजार आठ सय रुपियाँ भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै तीन हजार पाँच सय रुपियाँसम्म कायम हुने अनुमान गरिएको छ । तुम्लिङटार विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।
हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् । कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।
नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।