साफको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित

Advertisement

 काठमाडौं । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग  ०–१ गोल अन्तरले पराजित भएको छ ।

भारतको त्रिवेन्द्रममा भर्खरै सम्पन्न समूह ए को पहिलो खेलमा श्रीलङ्काका मोहम्मद रिफ्नासले खेल सकिन लाग्दा गोल गरेपछि नेपाल पराजित भएको हो । उनले खेलको अतिरिक्त समयअर्थात् ९५ औँ मिनेटमा नेपाली रक्षापङ्तिको फाइदा उठाउँदै गोल गरेका थिए । 

Advertisement

आज पराजित भएबाट नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । अब नेपालले सोही समूहमा रहेको प्रतियोगिताको दाबेदारमध्येको एक टोली आयोजक भारतलाई पराजित गर्नुपर्ने हुन्छ या त बराबरी खेल्दै सेमिफाइनलमा पुग्न भारत र श्रीलङ्काबीचको नतिजा कुर्नुपर्ने हुन्छ । आजको जितले श्रीलङ्काको सेमिफाइनल यात्रा लगभग पक्का भएको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले पहिलो हाफ पूरै आफ्नो नियन्त्रणमा लियो तर गोल गर्न भने सकेन । खेलको ९औँ मिनेटमा पाएको अवसरलाई अन्जन विष्टले सदुपयोग गर्न सकेनन् भने त्यसको तीन मिनेटपछि कप्तान अनिल गुरुङको हेड प्रहार सफल हुन सकेन । 

दोस्रो हाफमा पनि एक पछि एक आक्रामण खेल खेलेको नेपाल पुनः गोल गर्नबाट चुक्यो । मध्यान्तरपछि जगजित श्रेष्ठ र नवगुग श्रेष्ठको प्रवेशले आक्रमण तीव्र बनेको थियो । तर पूरै समय रक्षात्मक खेलेको श्रीलङ्काले काउण्टर एट्याकमा अन्तिम समयमा गोल गर्दै नेपाललाई निराश बनायो ।

साफ च्याम्पियनसीपमा नेपाल अझै पहिलो उपाधिको खोजीमा छ । हालसम्म नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्रमध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले एक÷एक पटक जित्नेमा छन् । रासस

Advertisement

Advertisement