संस्थागत सिफारिशमा आएका पर्यटक विमानस्थलबाटै फर्काइयो, सरकारको नालायकीपनः व्यवसायी

Advertisement

काठमाडौं । नेपाल घुम्न आएका विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिएका कारण विमानस्थलबाटै फिर्ता गरेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि व्यक्ति गरेका छन् । पर्यटकीय संस्थाको सिफारिसमा भित्रिएका पर्यटक आइसकेपछि भिसा नदिएका कारण विमानस्थलबाटै धमाधम फर्काइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । 

सरकारले नेपाललाई रेड जोडबाट पनि हटाउन नसकेको र पर्यटन व्यवसायीका संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले सिफारिश गरेर नेपाल भित्रिएका पर्यटक विमानस्थलबाटै फर्काएको व्यवसायीले दाबी गरेको छन् । खोप नलगाएका पर्यटक आएको र अनअराइभल भिसा स्वीकृति नभएको कारण देखाउँदैसरकाले पर्यटकलाई फकाइदिएको नाट्टाका अध्यक्ष अच्चुत गुरागाईंले बताए ।

Advertisement

उनले भने, ‘विमानस्थल आइसकेका रसियन नौ जना, ताइवानी पर्यटक दुई जना र क्यानेडियन दुई जना पर्यटकलाई विमानस्थलबाटै फर्काइएको छ ।’ सरकारले यस्तो कार्यले नेपालको बारेमा नकारात्मक सन्देश जाने गुरागाईंको तर्क छ । पर्यटक बोलाउने तर विमानस्थलबाट प्रवेश नदिएको भन्दै उनले यस घटनाको सन्देश अन्तर्राष्ट्रियस्तरमा नकारात्मक हुने उनले बताए । 

नेपाल आएका पर्यटकलाई क्वारेन्टिनमा बस्ने गरी भिसा दिनुपर्ने र खोपको मात्रा पूरा गरेकालाई निर्वाधरूपमा आउन जान दिनुपर्ने माग पर्यटन व्यवसायीको छ  । नेपालमा १६० देशबाट पर्यटक आउने भए पनि तीन दर्जन मुलुकको मात्रै दूतावास रहेकोले आएका सबैलाई अनअराइभल भिसा दिनुपर्ने बाध्यता छ । ‘आउन नपाउने पर्यटकलाई पहिल्यै सूचीत गर्ने गरिएको छ  भने आउन पाउने सूचीमा रहेका देशका पर्यटकलाई किन फर्काइयो ? हामीले सरकारसँग प्रश्न गरेका छौं’ नाट्टाका अध्यक्ष गुरागाईंले भने ।

पर्यटन व्यवसायीको सिफारिशमा आएका पर्यटकलाई आउन नदिनु भनेको पर्यटन बोर्डको सिफारिश पनि अटेर गर्नु भएको बुझाई व्यवसायीको छ । उनीहरुले गरेको सिफारिश टान र नाटा पुग्ने र सो सिफारिश पर्यटन बोर्डमा जान्छ । टान र नाट्टा दुबै संस्थाले गरेका दुई–दुई वटा सिफारिशबाट आएका पर्यटक फर्किएको जनाइएको छ । बोर्डले अध्यागमनमा पठाउने भएकोले बोर्डले नै सिफारिश गरेको पर्यटक फर्किएको र यो भनेको सरकारकै कमजोरी भएको व्यवसायीको भनाई छ । 

अझै खतराकै सूचीमा 
कोरोना महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय समूदायले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ । कोभिड–१९ महामारीबाट उच्च जोखिममा रहेको भन्दै रेड जोनभित्र राखिएको नेपाललाई अझै नहटाएका कारण खोप लगाएर हिड्ने पर्यटकको लागि समेत सहज वातावरण बनेको छैन् । जनसंख्याको ६० प्रतिशत नागरिकले खोप लगाइसकेपछि मात्रै खतरामुक्त हुँदै जाने भएकाले नेपालमा अझै पर्यटकीय वातावरण सुरु हुन सकेको छैन् । नेपालमा पर्यटक आगमनको मुख्य गन्तव्यमा मानिने भारत र चीनबाट पर्यटक नआएसम्म सन्तुष्ट हुने अवस्था हुन्न् । 

अहिले पर्यटन व्यवसाय ठप्प प्रायः छ । लामो समय पर्यटक नआएका कारण पर्यटन व्यवसायबाट विस्थापन भएका पेशाकर्मी तथा कामदार पुनः काममा फर्कन सकेका छैनन् । महामरीले पर्यटन व्यवसायमा दीर्घकालिन प्रभाव परेको  । पर्यटक आगमन नभएका कारण यो क्षेत्रबाट हुने अर्बौंको राजस्व गुमेको छ भने खर्बौंको लगानी जोखिममा परेको छ ।

सरकारले भारतीय पर्यटकलाई नेपाल आउन खुला गरेको र भारत जान पनि खुला भएको भए पनि सीमित उडान र अन्तर्राष्ट्रिय यात्रुको लागि यात्रा सम्बन्धी आदेशको पालना गरेर हुने आवतजावत सहज नभएका कारण उल्लेख्य मात्रामा पर्यटक आउन सकेका छैनन् । नेपाल भारतको उडानमा हरेक दिन एक एक मात्रै उडान भएको छ भने छिमेकी मुलुक चीनको उडान नै खुलेको छैन् ।

मुख्य गन्तव्य नखुल्दा अन्तर्राष्ट्रिय यात्रु बढ्यो, पर्यटक बढेनन्
नेपालले चीनको लागि उडान खुला गरेको भए पनि चीनले नै महामारीको असर कम नभएको र नेपाल जोखिमकै सूचीमा रहेको भन्दै उडान सुरु गरेको छैन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चिनियाँ पक्षले सन् २०२२ को फेब्रुअरीपछि मात्रै नेपालमा हवाई उडान खुला गर्ने सकिने अनौपचारिक जानकारी दिएको छ ।

नेपालमा उडान खुला नभएपनि चीनबाट भने मासिक साढे तीन सय हाराहारीमा यात्रु नेपाल आएका छन् । अध्यागमन विभागले नेपालमा आउने सबै विदेशीलाई पर्यटकको सूचीमा गणना गर्ने गरेको भए पनि नेपालमा आउने चिनियाँ नागरिक पर्यटक नभएको नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकाराज जोशी बताउँछन् । उनका अनुसार चीनबाट नेपालमा कुटनीतिक प्रयोजन र कामदार मात्रै आइरहेकोले उडान नखुलेको र पर्यटक घुम्न नै ननिस्किएकोले अध्यागमनको तथ्यांकमा देखिएका नागरिक अन्तर्राष्ट्रिय यात्रु मात्रै हुन् । यी यात्रु श्रमिक, इन्जिनियर तथा कुटनीतिक नियोगका कर्मचारी मात्रै भएको उनको बुझाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसारमा नेपालमा हाल एक करोड ४३ लाखले पहिलो मात्रा खोप लगाइसकेका छन भने दुवै मात्रा खोप लगाएका नागरिक ६४ लाख छन् । खोपको मात्रा पूरा गर्ने नेपाली नागरिक कुल जनसंख्याको २२ प्रतिशत मात्रै छ । छिमेकी मुलुक भारतमा यो तथ्यांक १८ प्रतिशत मात्रै छन भने चीनमा ४७ प्रतिशत पुगेको छ । खोपका मात्रा नबढेसम्म अझै पर्यटक आगमन सहज नहुने देखिएको छ ।

सेम्टेम्बरमा नौ हजार विदेशी नेपाल भित्रिए
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा नौ हजार ८९८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्यांक अनुसार नेपालबाट बाहिरिने यस्तो संख्या छ हजार ९४२ रहेको छ । नेपालमा भित्रिने भन्दा नेपालबाट बाहिरिने नेपालीको सख्या बढी छ । नेपालमा ७० हजार स्वदेशी र विदेशी यात्रु भित्रिँदा ८१ हजार यात्रु बाहिरिएको तथ्यांकले देखाउँछ । सेप्टेम्बर एक महिनामा नेपालमा ६० हजार नेपाली विभिन्न देशबाट आएका छन् भने बाहिरिनेको संख्या ७४ हजार रहेको छ ।

Advertisement

Advertisement