काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दसानायकेलाई फेरि राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको बोर्ड बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यसअघि पनि चार वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक भइसकेका पुबुदुको कार्यकाल (सन् २०१४)मा नेपालले बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेल्न सकेको थियो ।
तुलनात्मकरुपमा अरु प्रशिक्षकले भन्दा थोरै पारिश्रमिक लिने भएकाले पनि क्यानको रोजाईमा पुबुदु परेका हुन् । अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकलाई लागि प्रस्ताव आव्हान गरेकोमा उनीसहित ६० जनाले आवेदन दिएका थिए ।
ती मध्ये १५ जनालाई सर्टलिस्ट गरेर पाँच जनालाई अन्तरवार्ता गरिएको र पुबुदुलाई नै पुनः मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।