बंगलादेशमा हुने भलिबल प्रतियोगितामा नेपाली टिमले सुधारिएको प्रदर्शन गर्ने आशा

Advertisement

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियन्ससिपमा सहभागी हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा विगतमा हात पारेको नतिजालाई सुधार्न अभ्यास गरिरहेको छ । 

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुने पुरुष टोली यति बेला अन्तर्राष्ट्रिय सहभागिता राम्रो बनाउने तयारी गरिरहेको छ । 

Advertisement

रिसिभ र सर्भिसमा देखिएको समस्यालाई सुधार गर्न डच प्रशिक्षक हान अबिङले प्रशिक्षण केन्द्रीत गरिहेका छन् । प्रशिक्षक अबिङले कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको भलिबलमा सहभागिता नै उपलब्धि भएको भन्दै टोलीले उत्साहका साथ तयारी गरेको बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल भलिबल संघले आइतबारमात्र इम रानाको कप्तानीमा १२ सदस्यीय टिम घोषणा गरेको थियो । जसमा मान हादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन । दक्षिण एसियामा औसत प्रदर्शन गर्ने टोलीले आगामी संस्करणको सहभागितालाई राम्रो बनाउने लक्ष्यसहित तयारी गरिरहेको छ । 

कोभिड–१९ का कारण नेपालले विगत दुई वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन् । सुरुआती चरणमा फिटनेस समस्या भए पनि अहिले अभ्यासको क्रममा कुनै पनि खेलाडीमा चोट नदेखिनु टोलीको सुखद पक्ष भएको प्रशिक्षक हान अबिङले थपे ।

यस्तै नेपाली टोलीका कप्तान इम राना मगरले तयारी सन्तोष जनक नै भएको बताए । छोटो समय भए पनि तयारी विगतको राम्रो भएको र विगतमा भन्दा राम्रो नतिजा निकाल्नमा आशावादी रहेको बताए । सहभागी ५ टोलीमध्ये बंगलादेश र माल्दिभ्स नेपालकै स्तरको भएको र अन्य दुई टोली केही राम्रो भएकाले प्रतियोगिता अलि प्रतिस्पर्धात्मक बन्ने कप्तान इमले बताए ।

आईतबार मात्र बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को बैठकले महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले सहभागी निश्चय गरेको छ । महिलातर्फ आयोजक बंगलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलंका, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । अघिल्ला संस्करणमा विर्सनलायक प्रदर्शनबाट फर्किएको नेपाली पुरुष टोलीले यस पटक पदक छुने लक्ष्य बनाएको छ । 

Advertisement

Advertisement