नेपाल टेलिकमको एमडी नियुक्ति प्रक्रियामा चलखेल, प्रक्रिया लम्बिने

Advertisement

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को नयाँ प्रवन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रिया लम्बिने भएको छ । नियुक्ति प्रक्रिया नमिलेको भन्दै मुद्दा परेपछि सर्वोच्च अदालत र उच्च अदालत पाटनले प्रक्रिया रोक्न अल्पकालिन आदेश दिएका छन् । 

सर्वोच्चले पुस १२ सम्म प्रक्रिया रोक्न अल्पकालिन आदेश दिएको छ । एमडीको उमेर हद र सेवा सुविधाको विषयसम्वन्धी गत महिना जारी निर्देशकाका कारण छनौट प्रक्रियामा भाग लिन नपाएकाहरुले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले प्रक्रिया रोक्न भनेको हो । 

Advertisement

सुरु भएको छनौट प्रक्रियाको अन्तिम मिति पुस ७ सम्ममा नौ जनाको आवेदन परेको छ । आवेदन दिनेमा नगेन्द्र दास, प्रदीप उपाध्याय, संगीता पहाडी, बुद्धि आचार्य, अर्जुन ढकाल, सुरज थापा, सुनिल पौडेल, दीपक शाही, अमनेन्द्र सिंह छन् । नयाँ निर्देशिकाका कारण इच्छुक अन्य व्यक्तिले आवेदन दिन पाएनन् । आफूहरुलाई बदनियतपूर्ण तरिकाले रोक्ने नियतका साथ निर्देशिका जारी गरेर दरखास्त आव्हान गरिएको भन्दै उनीहरुले छनौट प्रक्रियामा ठूलो चलखेलको आशंका गरेका छन् । 

हालका एमडी डिल्ली अधिकारीको पदावधि यही महिना सक्किन लागेपछि नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो । नयाँ निर्देशिका खास व्यक्तिहरुको आवेदन रोक्न लक्षित देखिन्छ । यसमा उम्मेदवारको उमेर हद ३५ बर्ष पूरा भई ५६ बर्ष ननाघेको हुनुपर्ने भनिएको छ । यो निर्देशिकाप्रति स्वयम कम्पनीकै कर्मचारी युनियनको समेत विमति देखिन्छ । 

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले टेलिकमको नयाँ एमडी नियुक्तिका लागि सोही मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष बैकुण्ठ अर्थालको नेतृत्वमा समिति बनाएको छ । कम्पनीका अर्बौं रुपियाँका आयोजना र खरीद प्रक्रियामा कमिशन लेनदेनका कुरा हुने भएकाले एमडी नियुक्तिमा चलखेल राजनीति नेतादेखि ठेकेदारहरु सक्रिया हुने गर्छन् । 

Advertisement

Advertisement