एमसीसीबारे देउवाको तर्क– सित्तैमा आउने पैसा 'लिन्न' भन्न हुन्न

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा आउने एमसीसीको पैसा लिन्न भन्न नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा उनले एमसीसी राष्ट्रघाती नभएको पनि दावी गरे । 

अमेरिकी संस्था एमसीसीसँग गरिएको अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने कुरामा जनमत ध्रुविकृत भइरहेको बेला प्रधानमन्त्री देउवा र उनको पार्टी नेपाली कांग्रेस पास गर्नुपर्ने पक्षमा रहँदै आएको छ । यद्यपि उनले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गर्ने बताए । 

Advertisement

देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताबिरुद्ध नजाने जिकिर गरे । उनले भने, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो,  म अरु कुरा गर्न आएको थिएँ, एमसीसी राष्ट्रघाती भनिदिए । राष्ट्रघाती भन्ने पढेको छ कि छैन्, त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्छ । मैले देखेकै छैन् । म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपालको राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हीतमा छ । सित्तै आएको पैसा हो यो । यसमा व्यापक छलफल गरेर सहमति भएर हामी पास गराउने छौँ ।’

उनले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । देउवाले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । निर्वाचनभन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा उनको जोड थियो । 

देउवाले थपे, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको बिरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ । यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु । ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे । आफूले त मिल्न पाइन्छ नि ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभाको चुनाव भएको स्मरण गर्दै उनले दाहालको मुत्तलकण्ठले प्रसंशा गरे । 

Advertisement

Advertisement