विश्वका सय जना कुवेरसँग यति धेरै धन छ कि उनीहरुले विश्व नै खरीद गर्न सक्छन्ः प्रचण्ड

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रविधिको माध्यमबाट धनी राष्ट्रहरु झन धनी हुने र गरिव राष्ट्रहरु झन गरिव हुने अवस्था सिर्जना भएको बताएका छन् । 

प्रचण्डले आफ्नो पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विश्वका सय जना कुवेर (धनाड्य)हरुसँग विश्व नै खरीद गर्नसक्ने सम्पत्ति थुप्रिएको उदाहरण दिँदै धनी र गरिवहरुबीचको खाडल झन बढेर गएको बताएका छन् । 

Advertisement

धनी राष्ट्रले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न जातीय दंगा, हिंसात्मक भिडन्त र युद्ध थोपरेर हतियार बेच्ने र धनी हुने काम गरेको बताउँदै उनले पछिल्लो समयमा प्रविधिको प्रयोग गरेर यस्ता राष्ट्र र सीमित व्यक्तिहरु झन धनी बन्ने र तर विश्वका बहुसंख्यक मानिसहरु गरिव भइरहनुपर्ने अवस्था सिर्जना भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । 

विज्ञान प्रविधिको अभूतपूर्व विकासले मानवीय श्रम शक्तिको प्रभावकारिता र उत्पादन शक्तिको विकासमा गुणात्मक योगदान दिए पनि पुँजीवादले वैज्ञानिकहरुलाई अनुसन्धानका लागि लगानी र प्रोत्साहन गर्ने, जुन आविश्कारले उनीहरुलाई छिटो मुनाफा कमाउन मद्दत गरेको प्रतिवेदनमा उल्लेख छ । 

पुँजीपतिहरुमा अन्तरनिहीत मुनाफाको भोकका कारण विज्ञान प्रविधिको नयाँ नयाँ आविश्कारलाई प्रकृति, समाज र मानव हितका लागि नभई विनाशका लागि प्रयोग गर्ने गरेको भन्दै आफ्नो दस्तावेजमा प्रचण्डले आविश्कारहरु पुँजीपतिहरुको नाफा कमाउने साधन बनेको बताएका छन् । 

दस्तावेजमा उल्लेछ छ, ‘भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादले विज्ञान प्रविधिको प्रयोगबाट उत्पादन शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रीत गरे पनि उत्पादन सम्वन्धका दृष्टिले धनी र गरिवबीचको खाडल झन भयानक बन्न गएको तथ्य स्वयम पुँजीवादी अर्थशास्त्रीले स्वीकार गरेका छन् ।’ 

नेता प्रचण्डले अहिले वर्गीय अन्तरविरोध विकराल बनेको र जसको तुलना इतिहासका कुनै पनि कालखण्डसँग गर्न नसकिने तर्क गरेका छन् । उनले यदि विश्वका सय जना मात्रै धन कुवेरहरु मिलेर खरीद गर्न चाहेमा विश्व नै खरीद गर्न सक्ने भयावह स्थिति आज रहेको बताउँदै संसारको कुल जनसंख्याको झण्डै ७५ प्रतिशत जनता अल्पविकसित र विकासशील देशमा रहेको, जसको साथमा संसारको कुल सम्पत्तिको १५ प्रतिशत मात्रै रहेको, बाँकी ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशमा केन्द्रीत रहेको बताएका छन् । 

उनले  बेर्नाड अर्नल्ट, जेफट वेनोस, एलन मस्क, विल गेट्स, मार्क जुकरवर्ग जस्ता धनीहरुसँग रहेको सम्पत्तिको पनि चर्चा गरेका छन् । प्रचण्डले धनी देशहरुले प्रवृत्ति र मानवीय संरक्षणमा खर्चनुपर्ने ठूलो रकम हातहतियार र सैन्य शक्तिमा खर्च गरेको बताएका छन् । 

Advertisement

Advertisement