राजाहरु देशभक्त हुन्छन् भन्ने कुरा उनीहरुले प्रमाणित गरे, तर नेताहरुमा देशभक्ति भएन्ः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । उनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा बढेको बताएका छन् । 

स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा बुधबार आयोजित एक कार्यक्रममा लिङदेनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको बताएका हुन् । 

Advertisement

उनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे । लिङदेनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि स्मरण गरे । 

स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गर्दै लिङदेनले भने, ‘म केटाकेटी नै थिए–२०३२ सालतिर होला । जब सिक्किममा राजसंस्थाको अन्त्य भयो । जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए । ओहो, राजा भएन भने त देशै सकिने रहेछ । जब मेरो बाल मस्तिष्कमा प¥यो । राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो । आज पनि म त्यही जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा खेरी आज जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यस बेला त थोरैथोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन् । अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ । त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यकता छ भनेर मैले भन्ने गर्छु ।’

उनले राजा वीरेन्द्र देशभक्त र प्रजातन्त्रप्रेमी राजा भएको बताउँदै थपे, राजा वीरेन्द्रको कुरा गर्दाखेरी २०४५–४६ सालताका जुन नाकाबन्दी थियो । त्यसबेला अलि बुझ्ने भईसकेको थिए म । विद्यार्थी राजनीतिमा थिए । त्यसबेला भारतबाट तत्कालीन संस्थापनले के–के शर्त लिएर आएको थियो । त्यसबेला राजाले ती शर्तहरु मानेको भए आज पनि नेपालमा राजसंस्था पनि रहिराख्थ्यो । त्यो नाम मात्रको हुन्थ्योहोला । तर देशहित विरुद्धका तिम्रा सम्झौंताहरु, शर्तहरु मान्नु भन्दा देशका राजनीतिक दलहरुसँग सम्झौैंता गर्छु । तिमीसँग झुक्नुभन्दा मेरो जनतासँग झुक्छु भनेर जब राजा वीरेन्द्रले दलहरुसँग सम्झौता गरेर संवैधानिक राजा बने । त्यसबाट मलाई के लाग्यो भने हामी कोही भन्दा, हामी राजनीतिक दलका नेताभन्दा, कुनै अरु छुट्टै नागरिकभन्दा, हामी सबैभन्दा राजा देशभक्त हुन्छन भन्ने कुरा चाँही प्रमाणित भयो भन्ने लाग्छ ।’

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपीन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको बताए । उनले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गरे । 

Advertisement

Advertisement