कांग्रेस, कम्युनिष्ट छोडेर राप्रपामा आउनुस्, तपाईंहरुको शिर झुक्न दिन्नौंः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । 

बिहीबार राप्रपा, दोलखा कमिटीले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडी मुख देखाउन लायक नभएको बताए । 

Advertisement

राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताउँदै लिङदेनले राप्रपाले बोकेको मुद्दाको पक्षमा नै देशको अधिकांश जनता रहेको बताए । 

उनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए । लिङदेनले भने, ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठूलो पार्टी भन्छन् । उनीहरु जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरुसँग कुनै आधार नै छैन ।’ 

लिङदेनले थपे, ‘खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठूलो पार्टी हुने मौका पाए । उनीहरु आकारको हिसाबले ठूलो पार्टी भएकाले पहिलो, दोस्रो, तेस्रो पार्टी भनिन्छ । फेरि दोहो¥याएर भन्छु, नैतिक रुपले, राजनीतिक रुपले उनीहरु जनताको अगाडी मुख देखाउन लायक छैनन् । यस्तो बेला देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको छ । हाम्रो तर्फबाट, नेतृत्वको तर्फबाट कुनै पनि प्रकारको कमी, कमजोरीहरु हुँदैन । तपाईंहरुको शिर झुक्ने खालको कुनै पनि क्रियाकलाप हाम्रो तर्फबाट हुँदैन ।’

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरे । राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने लिङदेनको आश्वासन थियो । विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने बताए । 

Advertisement

Advertisement