मन्त्री आलेद्धारा पर्यटन बोर्डका सीईओलाई न्यूनस्तरको शब्द प्रयोग गर्दै आलोचना

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई न्यूनस्तरको शब्द प्रयोग गर्दै आलोचना गरेका छन् । 

बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री आलेले डा. रेग्मीलाई ‘साँढे’ भन्दै गाली गरेका हुन् । उनले भन, ‘पर्यटनमन्त्री कार्यक्रममा भाग लिन बेलायत पुगेका बेला आफूलाई अपमानित गरेको दावी गर्दै भने, ‘यस्तो साँढेलाई सीईओ बनाए भने बोर्ड चल्छ ?’
 
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको पालामा पर्यटनमन्त्री भएका योगेश भट्टराईले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरेका रेग्मीलाई मन्त्री आलेपछि राजीनामा दिन दबाब दिँदै आएका थिए । तर रेग्मीले आफू प्रतिस्पर्धाबाट आएको बताउँदै राजीनामा दिन नमानेपछि हटाउने प्रक्रिया सुरु गरिएको छ । सोही क्रममा पर्यटन मन्त्रालयका सचिवको नेतृत्वमा छानविन समिति बनाइएको छ । 
 
आजको कार्यक्रममा मन्त्री आलेले रेग्मी नभएसम्म पर्यटन बोर्डको प्रगति नहुने भन्दै न्यूनस्तरको शब्दसहित आलोचना गरे । उनले बेलायत जाँदाको प्रसंग कोट्याउँदै बेलायतमा आफूलाई अपमानित गरिएको दावी गरे । 

Advertisement

रेग्मीले आफूलाई ‘धेरै रिसाउनुभो जाम् रक्सी खान जाम’ भनेर भनेको पनि बताए । उनले भने, ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो । बोल्ने कार्यक्रम छैन भन्यो साँढेले । लन्डन गएँ दूतावासमा राखिदियो । न गाडी छ । खाना आफैं खोजेर खानुपर्ने । म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ ।’ 

आफूलाई खरिद गर्छु भनेर कसैले पनि नसोचे हुने आलेको जिकिर छ । उनले भने, ‘चार ओटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ ।’ मन्त्री आलेले आफ्नो मन्त्रालयमा विकृति धेरै रहेको भन्दै सम्हाल्नै गाह्रो भएको बताए । 

के भएको थियो बेलायतमा ?
गत कात्तिकमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम)को कार्यक्रममा भाग लिन मन्त्री प्रेम आले र तत्कालिन पर्यटन सचिव यादव कोइराला लण्डन गएका थिए । मन्त्रीका सहयोगी र मन्त्रालयका अन्य अधिकारीसहित ठूलो टोलीलाई लैजान दबाब भए पनि बोर्डले मन्त्री आले र सचिव कोइरालाका लागि मात्रै टिकट खरीद गरेको थियो । मन्त्री आलेसँगै उनका सहयोगी पनि बेलायत गएपछि उनको टिकट व्यहोर्न उनले पर्यटन बोर्डलाई बारम्बार दबाबसमेत दिएका थिए । तर बोर्डले नमानेपछि मन्त्री आले आफैले त्यो खर्च कतैबाट व्यवस्थापन गरेका थिए । 

टिकट खरीद गर्ने कुरादेखि नै रिसाएका मन्त्री आले लण्डन पुगेपछि पनि कार्यक्रमस्थलमा तोकिएको समयमा नपुगि ढिलो गरी पुगेका थिए । ढिलो भएकाले अन्तर्राष्ट्रियस्तरको उक्त कार्यक्रममा मन्त्री आलेले बोल्न पाएनन् । बोल्न नपाएपछि सोही ठाउँमा बबाल गरेका उनले पर्यटन बोर्डका अधिकारीहरुलाई तथानाम गालीसमेत गरेका थिए । 

बोल्न नपाएकै कारण कार्यक्रममा सहभागी हुन पुगेका नेपालका पर्यटन व्यवसायीसँग फोटोसमेत खिच्न नमानेको र सस्तो क्यामरा बोकेको पत्रकारलाई अन्तरवार्ता गर्न लगाएको भन्दै निउ खोजेका थिए । त्यहाँबाट रिसाएर निस्किएका उनलाई बोर्डका एक कर्मचारीले पटक पटक अनुनय बिनय गर्दै सम्बोधन गर्न नपाए पनि कम्तिमा पर्यटन व्यवसायीसँग फोटो मात्रै खिचिदिनुस भन्दै बीच बाटोबाट फर्काएर ल्याएका थिए । 

लामो प्रयास, आग्रह र वास्तविकता बुझाउने प्रयासपछि केही शान्त भएका मन्त्री आले सपिङका लागि सुपरमार्केटमा गएर लाखौं रुपियाँका घडी, आईफोन, रक्सी खरीद गर्नुका साथै बेलायतस्थित नेपाली दूतावासका कर्मचारीलाई सयौं डलर टिप्स बाँडेका थिए । कार्यक्रममा बोलाएर सम्बोधन गर्न नदिएको भन्दै मन्त्री आलेको निशानामा पर्दै आएका रेग्मीलाई   
राजीनामा गर्न दबाब दिँदै आएका थिए । 

उनले राजीनामा दिन नमानेपछि विमानस्थलमा भएको घटनालाई लिएर आलेले उनीमाथि छानविन गर्न समिति बनाएका छन् । त्यसअघि नै उनले रेग्मीलाई हटाउन सचिव यादव कोइरालालाई दबाब दिए पनि उनले विना कसुर कारवाही गर्न नहुने बताएपछि सरुवा गरिदिएका थिए । नयाँ सचिव ल्याएर रेग्मीलाई हटाउन प्रक्रिया अघि बढाइएको छ । 

रेग्मीका अनुसार विमानस्थलमा आफूले हातपात गरेको भनि गरिएको प्रचार प्रयोजित भएको बताउँदै आएका छन् । रेग्मीका अनुसार लण्डनबाट फर्किने क्रममा मन्त्री र सचिव भीआईपी कक्षबाट फर्किए पनि आफू विमानस्थलको अवस्था हेर्न भन्दै सर्वसाधारण यात्रु फर्किने कक्षबाट बाहिर निस्किदै थिए । उनले आफूसहित भ्रमण दलमा सहभागी बोर्डका छ जना कर्मचारीको छ बोतल रक्सीसमेत आफैले बोकेर ल्याइदिएका थिए । 

त्यही क्रममा विमानस्थलका भन्सारका कर्मचारीसँग रक्सीको विषयलाई लिएर विवाद भयो । त्यस क्रममा भन्सारका कर्मचारीले आफूलाई हातपात गर्न थालेपछि आफूले प्रतिकार मात्रै गरेको तर सिसिटिभि फुटेजमा भन्सारका कर्मचारीबाट भएको दुव्र्यवहार काटेर आफूले प्रतिकार गरेको दृश्य मात्रै सार्वजनिक गरिएको, आफूले मदिरा सेवन गर्दै नगरे पनि काठमाडौं मेडिकल कलेज सिनामंगलबाट मदिरा सेवन गरेको नक्कली प्रमाणपत्र बनाउने काम भएको, आफूले सम्वन्धित डाक्टरलाई नक्कली प्रमाणपत्र बनाएकोमा रिपोर्ट गर्ने बताएपछि उनले माफी माग्दै अर्को प्रमाणपत्र तयार गरेको, आफू निर्दोषको ठाउँ हुँदा पनि मन्त्री आले र सचिव कोइराला मौन बसेको बताएका छन् । 

Advertisement

Advertisement