सभ्यताको ज्योति नेपालमा बल्यो, अनि अरुले त्यही झिल्को लगेर सल्काएर संवद्ध बनेः ओली

Advertisement

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सभ्यताको ज्योति नेपालमा बलेको बताउँदै अरुले त्यसको झिल्को लगेर सल्काएर नयाँ सभ्यता विकास गरेको बताएका छन् । 

संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार बालकोटमा उनले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताए । ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने बताए । 

Advertisement

उनले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए । ओलीले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको भन्दै सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको तर्क गरे । 

उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने बताए । ओलीले ग्राभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए । 

उनले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि सुनाए । ओलीले थपे, ‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले र सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गईहाल्छ त । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरु प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरु एउटा झिल्कोबाट प्रमिथस भएर निस्के ।’

ओलीले थपे, ‘हाम्रो ठाउँकाहरुलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि सभ्यता निभेर गयो । त्यसकारण हाम्रो ज्ञान चाँही पछाडि प¥यो । उनीहरुको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्यूटनले ग्राभिटेशनको थेउरी पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । यी विद्धानहरुको त कुरै छैन । फष्ट फिलोसफर को थिए ? भन्दाखेरी शुकरात । शुकरातभन्दा हजारौैं वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन् । त्यसकारण यो ज्ञानभूमि हो । हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सिर्जना, ती अभ्यासहरुको सिर्जना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ । तपाईंहरुको यो जोगाउने प्रयासलाई धेरैधेरै प्रसंशा गर्दछु । धन्यवाद भन्छु । र तपाईंहरुको अभ्यास कायम राख्नुस । मेरो आफ्नो ठाउँबाट तपाईहरुको अभ्यासलाई साथ छ ।’

Advertisement

Advertisement