देउवा सभापति भएको बल्ल एक महिना भयो, तीन महिना त हनिमुन पिरियड हो निः यादव

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अबको आम निर्वाचनमा देशभर नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं ।’

Advertisement

यादवले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि उनको भनाई थियो । यादवले भने, ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’ 

उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको सुनाए । यादवले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राखनुभयो । अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिष्पर्धा भएको छ। एशियाली मुलुककोलागि मात्रै होईन, संसारकै लोकताीन्त्रक देशलाई चूनौति भएको छ। तपाईँले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो । तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिष्पर्धा भयो।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने,‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन् ।’ 
उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको सुनाए । यादवले भने, ‘ वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन्, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो । वरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पार्टीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’

उनले सभापति देउवाले गुटगत आधार नदेखाएको दावी पनि गरे । यादवले भने, ‘अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन् । उहाँले अझै सबैलाई समेट्नुहुन्छ । राष्ट्रियसभाको उम्मेद्धवार दिँदा पनि सबैको साझा सभापतिको भूमिका देखाउनुभयो । शेखर कोइरालाले बोलाएको बैठकको आवश्यकता थिएन । हुन त उहाँले भागबण्डाको राजनीति गर्दिन भन्नुभयो । अहिले आफ्नो एजेण्डाबाट आफै पछि पर्नुभयो ।’

उनले देउवा पार्टी सभापति निर्वाचित भएको एक महिना पनि नभएको सुनाए । यादवले भने– ‘अहिले एक महिना नै भएको छैन् । तीन महिना त हनिमुन पिरियड हो । केही साथी छुट्नुभएको छ । सबैलाई उहाँले समेट्नुहुन्छ । उहाँले अन्य पार्टीलाई पनि समेट्नुभएको छ ।’

Advertisement

Advertisement