एमालेले साथ देला र एमसीसी पास गरौंला भन्ने नसोचे हुन्छः भट्टराई

Advertisement

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन् । 

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताए ।

Advertisement

भट्टराईले सरकारको ६ महिना यत्तिकै व्यतित भएको थपे, ‘सरकारको ६ महिनाको समीक्षा गर्दा यो ६ महिना त्यतिकै व्यतित भयो, प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’

भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले भने, ‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो ।’ उनले सरकारको ६ महिनाको कामको समीक्षा गर्दा कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी)का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । 

भट्टराईले भने, ‘उहाँहरुले एमालेलाई सर्वाधिक धेरै गाली गर्नुभयो । एमाले यस्तो पार्टी हो, जसले गालीलाई स्विकार गर्दै तर्कसंगत खण्डन गर्नसक्छ ।’ उनले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको बताए । भट्टराईले भने, ‘दुनियाँमा अदालतले यति घण्टाभित्र सरकार बनाउनु र फलानोलाई प्रधानमन्त्री तोक्नु भनेको हामीलाई थाहा छैन् । तोकेको घण्टाभित्रै शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुभयो ।’ 

उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको दावी गरे । भट्टराईले भने, ‘अहिले म विकासको धेरै कुरा गर्न सक्दिन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा हुँदा ३९६ वटा आधारभूत तहको अस्पतालको शिल्यान्यास गरेका थियौं । ती कुनै नक्कली आयोजना होइनन् । रणनीतिक सडक सांसदहरुले लेखेर दिएको हो । डिपिआर र नक्शाङ्कन सकिएको थियो ।’

अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरु बेवारिसे बनेको उनको गुनासो छ । उनले भने– ‘बजेट होलिडे यही बीचमा भयो । बजेटको अभावको कारण ठूलो समस्या भएको छ । बैंकहरुको तरलताको अवस्था छ । यति ठूलो संकट अहिलेसम्म आएको थिएन ।’

त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको भट्टराईको टिप्पणी थियो । उनले भने, ‘यहाँ कार्यक्षमता भएकाहरुलाई बेकामे बनाइएको छ । प्रशासनमा पनि अहिले बेथिति मात्रै छ ।’ त्यस्तै, विभिन्न देशमा राजदूतहरु रिक्त रहेको पनि भट्टराईले गुनासो पोखे । 

उनले भने, ‘चीनमा राजदूत खाली राखिएको छ । यो सरकार महाकाली तुईन प्रकरणमा चुँ बोलेन । एमसीसीको सन्दर्भमा सरकारको धारणा अहिलेसम्म आएको छैन् । कांग्रेसको धारणा त आयो । तर सरकारको धारणा के हो ? सरकारको एकीकृत धारणा अहिलेसम्म आएको देखिएको छैन् ।’

भट्टराईले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएको पनि आरोप लगाए । उनले भने, ‘न्यायाधीशहरुको गुटबन्दी छ । न्यायालयमा चौपट समस्या उत्पन्न भएको छ । न्यायालय घुसखोरीको अखडा भएको छ, न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले यो कुरा भनेको हो । न्यायालयमा सुधारको लागि यो रिपोर्ट अक्षरंश पालना हुनुपर्छ ।’
उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । भट्टराईले भने, ‘सुरुमा हामीले गठबन्धन गरेका थियौं । पछि बाध्य भएर पार्टी एकता गरेको हो । अहिले कांग्रेसका साथीहरु यही गठबन्धन लिएर चुनावमा जानुभयो भने भोलि भोग्नुहुन्छ । एमाले संसदीय व्यवस्था र संविधानका उपलब्धिबाट पछि फर्किँदैन् ।’ उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए । 

भट्टराईले भने– ‘खोप स्टकमा छ भनियो । त्यो बेलाको सरकारले गरेको व्यवस्थाअनुसार यो सबै काम भएको हो । नयाँ तरिकाले खरिद गरिएको होईन । हावादारी गफ नगरे हुन्छ। बरु, अब खोपलाई अभियानको रुपमा लैजानुपर्छ । पारदर्शी तरिका अपनाएर खोपको व्यवस्था गर्नुपर्छ ।’

अहिलेकै अवस्थामा आफूहरुले संसद् चल्न नदिने उनको चेतावनी छ । भट्टराईले भने– ‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो । सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगवेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नुपर्यो । यदि उहाँले यसो गर्नुभन भने मार्गप्रशस्त गर्नुपर्यो ।  एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् ।’

उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । भट्टराईले भने, ‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन् । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, शिघ्रादिशिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’ उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने, ‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’

Advertisement

Advertisement