नेपालमा आउने जाने बढे, अध्यागमनको गेटको आधुनिकीकरण गर्नुपर्ने भयोः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालमा आउने र नेपालबाट जानेको संख्या बढेको भन्दै अध्यागमनको गेट आधुनिकीकरण गर्नुपर्ने बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा आयोजित छलफलमा उनले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । 

Advertisement

अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने भन्दै खाँडले पछिल्लो समय भिजिट भिजामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको सुनाए । यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भीरतापूर्वक कदम चालिरहेको पनि उनको दावी छ । 

खाँडले भने, ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भीर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् । के प्रयोजनका लागि जाने हो ? त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो । त्यसका लागि पासपोर्ट पनि नयाँ प्रविधियुक्त हुँदै जाने र त्यही अनुसार अध्यागमनबाट आवत्जावत् गर्ने क्रममा अध्यागमन गेटहरुलाई पनि हामीले अत्याधुनिकीकरण गर्नुपर्ने अवस्था छ ।’ 

उनले थपे, ‘पछिल्लो पटक भिजिट भिसामा जाने तर त्यहाँ गइसकेपछि भ्रमण गर्ने र फर्किने भन्दा पनि त्यहाँ फेरि विभिन्न रोजगारीको खोजीमा नेपालीहरु विदेशमा भौतारिने । यसमा सम्बन्धित मन्त्रालयले पनि गम्भीरतापूर्वक कदम चालिराखेको छ । यहाँबाट जाने बेलामा पनि सहजतापूर्वक जानुहोस् र जुन देशमा, जुन गन्तव्यमा उहाँहरु पुग्नुहुन्छ त्यहाँ पनि सुरक्षित रुपमा रहनुहोस् । जे प्रयोजनका लागि गएको हो त्यही प्रयोजनका लागि आफ्नो भिसालाई प्रयोग गर्नुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

मन्त्री खाँडले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने बताए । द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए । 

Advertisement

Advertisement