काठमाडौं । समुन्द्री सतहबाट (८,१८८ मिटर) उचाइमा रहेको विश्वको छैठौं अग्लो चो ओयु हिमालको नेपालतर्फबाट पहिलो पटक आरोहण हुँदै छ । यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको यस हिमालको आरोहण नेपालबाट पनि सुरु भएको हो ।
नेपाल तर्फबाट रुट निर्माणका लागि आरोहीहरूले व्यक्तिगतरुपमा सहयोग संकलन गरी बाटो निर्माण गर्न आधार शिविर पुगेको टोलीले बिहीबार क्याम्प १ सम्मको बाटो खोल्न सफल भएका छन् । क्याम्प १ सम्मको बाटो खोली बेस क्याम्प फर्किएको आरोही टोलीका सदस्यले बताए ।
विशेषगरी नेपालमा हिमाल आरोहण गर्मी, जाडो र शरद ऋतुमा गर्ने गरिन्छ । तर च्यो ओयु हिमाल भने जाडो याममा चढ्न सकिने आरोही टोलीका एक सदस्य कीर्तिमानी आरोही ल्हाक्पा देण्डी शेपाले जानकारी दिए । टोलीमा १० जना छन् ।
टोलीले सामूहिकरूपमा पहिलोपटक चो ओयु हिमाल आरोहणका लागि रुट निर्माण गर्ने लक्ष्य राखेको शेपाले बताए । नेपालमा रहेका आठ हजार मिटर अग्ला आठ वटा हिमालमध्ये यो मुख्य आकर्षक हिमाल मानिन्छ ।
‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’का प्रबन्धक अशोक राईका अनुसार आरोही टोली दुई दिनअघि क्याम्प १ को ३ सय मिटर मुनीसम्म पुगेर बुधबार आधार शिविर फर्केका थिए । उनले भने, ‘आज आरोही टिम क्याम्प १ पुगी बेस क्याम्प फर्केका छन् । टिमका सबै सदस्य सकुशल छन् । अब भोलि क्याम्प १ हुँर्दै क्याम्प २ सम्मको बाटो खोल्ने योजना छ । अबको ५ दिन मौसम एकदम राम्रो हुने अपडेट पाएका छौं । यस अवधिभित्र आरोही टिमले क्याम्प ३ सम्मको बाटो खोल्ने, रोप फिक्सिङ गर्ने योजना रहेको छ ।’
राईले यही फेब्रुअरी महिनाको २४–२५ तारिख भित्र रुट मार्ग निर्माण गरिसक्ने योजना बनाएको बताउँदै क्याम्प ३ सम्मको बाटो खोल्ने रोप फिक्सिङ गरी बेस क्याम्प फर्किएपछि मौसम हेरेर राम्रो भयो भने सबै चाहिने समानहरु लानुका साथै लक्ष्य राखेकै दिनमा शिखर आरोहण गर्ने बताए ।
टोलीमा आरोही गाइड गेल्जेन शेर्पा, टासी शेर्पा, लाक्पा देण्डी शेर्पा, पेम्बा तेन्जी शेर्पा, तेन्जीङ गेल्जेन शेर्पा, गेसमान तामाङ, विवस शेर्पा, कर्मा शेर्पा, फुरी कित र पेम्बा दोर्जी शेर्पा छन् ।