ए डिभिजन लिगः एपीएफ र संकटा दुबै गोलरहीत बराबरीमा सकिए

Advertisement

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आईतबार भएका खेलमा विभागीय टोली एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपीएफले संकटासँग गोलरहित बराबरी खेलेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोली तालिकामा सम्मानजनक स्थानको अपेक्षासहित मैदान उत्रिएका थिए । तर पाएका केही राम्रा अवसरलाई दुबै टोलीले सदुपयोग गर्न नसक्दा अंक बाँड्न पुगे ।

Advertisement

एपीएफभन्दा तालिकामा माथि रहेको संकटाले सुरुआतबाट आक्रामक खेल देखाउँदै तीन अंकका लागि प्रयास गरेको थियो । तर एपीएफका विदेशी गोल किपर युया कुरियामाले उत्कृष्ट खेल खेलेपछि संकटाको प्रयास धेरै पटक विफल भएको थियो । 

सोही क्रममा ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार युया कुरियामाले उत्कृष्ट बचाउ गर्दै सुरुआती संकट टारेका थिए । ३५औं मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा एपीएफले अग्रताको अवसर खेर फाल्न पुगेको थियो । 

त्यसपछिको पहिलो हाफको समयमा पनि प्रयास विफल हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले आकर्षक शैलीमा बचाए । 

खेल सकिन १० मिनेट बाँकी रहँदा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो । ८५ औं मिनेटमा एपीएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपरले सहजै नियन्त्रण्मा लिए र बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ । एपीएफ नवौं स्थानमा रहेको छ । यस्तै संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । खेलमा एपीएफका गोलकिपर कुरियामा चुनिए ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारकै अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)ले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्यभागमा रहेका दुबै टोलीले अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । पहिलो हाफमा हिमालयन शेर्पाले दबाब दिएर खेले पनि दोस्रो हाफमा भने रक्षात्मक खेल पस्किएको थियो । 

अघिल्ला खेलमा औसत प्रदर्शन गरेको एनआरटीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको हिमालयन शेर्पाले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेको थियो । सोही कारण दुबै टोली एक–एक अंक बाँड्दै यस सिजनको लिगको भेट टुङ्गाएका हुन् ।

बराबरी सँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ भने हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । 

यस सँगै सहिद स्मारक ए डिभिजन लिगमा १०औं चरणका खेल पनि सकिएका छन् । साविक विजेता मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । अब लिगमा मंगलबारबाट ११औं चरणका खेल आरम्भ हुनेछन् । 

Advertisement

Advertisement