एमसीसीको पक्षमा आफ्ना कार्यकर्ताले प्रचारप्रसार कम गरेकोमा देउवाको असन्तुष्टि

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् । 

बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोकार्पण गर्दै उनले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताएका हुन् । 

Advertisement

देउवाले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताउँदै एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए । एमसीसी राष्ट्रको हितमा रहेको उनको दावी छ । देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ । थाहा छैन् । तर राष्ट्रको हितमा छ भन्नेकुरा सत्य हो । हामीले भन्नुपर्छ यो, सत्य हो ।’

प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताए । एमसीसीको पक्षमा काँग्रेस कार्यकर्ताहरुबाट पर्याप्त प्रचारप्रसार नभएको संकेत गर्दै उनले पार्टीले राम्रो राम्रो काम गरिरहेको भए पनि जस अरुलाई जाने इष्र्याका कारण प्रचार नगर्ने गरिएको बताए 

प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ । हामीले गरेका कामहरुको प्रचार कम गरेका छौँ । प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई इष्र्या छ । पार्टीले ग¥यो भन्ने नाम किन भन्नुप¥यो ? पार्टीले ग¥यो भनेर देशभरी भन्न सकिन्छ । पार्टीको प्रचार पुगेको छैन् । पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन् । पार्टीले राम्रो कामहरु गरेको छ ।’ प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए । 

कांग्रेस महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए । नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । 

थापाले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन, आफूलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यी सबै कुराहरुमा नेपाली कांग्रेस पार्टी अरुजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन ।’

Advertisement

Advertisement