रुसले युक्रेनमा आक्रमण गरेकोमा परराष्ट्र मन्त्रालयले कडा शब्दमा गर्यो निन्दा

Advertisement

काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेमा नेपालले पनि प्रतिक्रिया जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको हो ।

विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन आग्रह गरिनुका साथै अर्को मुलुकको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरिएको छ । 

Advertisement

युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम् संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’

कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै परराष्ट्रले यसको पूर्ण सम्मान हुनुपर्ने बताएको छ । युक्रेन संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

परराष्ट्रले युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने स्पष्ट पारेको छ । विवादलाई कुटनीति एवं वार्तामार्फत् शान्तिपूर्ण समाधान हुनु पर्ने नेपालको भनाई छ । 

Advertisement

Advertisement