एमसीसीले आर्थिक वृद्धि गर्छ, गरिबी कम गर्छ, जनताको जीवनस्तर सुधार्छः ठाकुर

Advertisement

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको दावी गरे । 

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लोसपा एमसीसीको पक्षमा रहेको बताएका हुन् । ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि बताए । 

Advertisement

उनले भने, ‘सरकारले संसदमा प्रस्तुत गरेको अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा छु । अमेरिकाले नेपाललाई सात दशकदेखि विकास सझेदारको रुपमा नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हित र राष्ट्रिय संरक्षणको हरेक क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य  र कृषि गरी प्रत्येक क्षेत्रमा अमेरिकाको केही न कही सहयोग देखिन्छ । अहिले वर्तमान सहयोग आएको छ । जुन अनुदानको रुपमा छ । जसमा विशेष गरेर गरिबी निवारणको विषय तोकिएको छ ।’

उनले थपे, ‘एमसीसी अनुदानको उद्देश्य नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्ने र सर्वसाधरण जनताको जीवनस्तर सुधार गर्ने राम्रो लक्ष्य लिएर अनुदानको रुपमा आएको छ । खर्च हुने कुरामा प्रश्न गरिएको छ । त्यो पनि निर्धारण गरिएको छ । त्यो नेपाल सरकारद्वारा नै निर्धारण गरिएको  हो । यसबाट आउने सहयोग विद्युत र सडक निर्माण तथा सडक मर्मत सम्भारमा खर्च हुने छ । आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने हो । यो सहयोग त्यसै आएको होइन । नेपालले अनुदान पाउन मापदण्ड पुरा गरेकाले पाएको हो ।’

अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पूरा गरेकाले मात्रै अनुदान पाएको तर्क गरे । उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने दावी गरे । 

Advertisement

Advertisement