‘एमसीसी यति धेरै विवादित भयो कि यस्तो त अरनिको राजमार्ग बनाउँदा पनि भएको थिएन्’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का नेता राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिनरुपमा लिएर जानको लागि ड्यामेज गरेको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा उनले एमसीसीको कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नको लागि निकै समय लाग्ने बताए । भट्टराईले भने, ‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसी पारित भएपछि हाम्रो पार्टीको धारणा आईसकेको छ । अब यसमा धेरै व्याख्या गर्नुहुँदैन् ।’ 

Advertisement

एमालेको सरकारमा हुँदा एमसीसी सम्झौतालाई अविछिन्न सरकारको निरन्तरताको जिम्मेवारी महशुस गरेर अघि बढाउने काम गरेका बताउँदै उनले तर त्यति बेला पनि यसलाई गिजोल्ने काम बताए । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा यो पहिलो पटक हो भन्दै भट्टराईले अरनीको राजमार्ग बनाउँदा पनि यस्तो भएको थिएन् भने 

नेता भट्टराईले सुरुमा एमसीसीको समर्थन गर्नेहरुले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले भने, ‘यहाँ अपरिपक्व खालको क्षमता देखाउने काम भयो । यो मुलुकको लागि अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालिन रुपमा लिएर जानको लागि ड्यामेज गरेको छ । यसको कन्ट्रोल गरेर रिपेर गर्नको लागि निकै समय लाग्छ ।’ 

एमसीसीको कारण भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरु सोच्ने अवस्थामा पुगेका छन् भन्दै भट्टराईले यसमा जो जिम्मेवार हो, उनीहरुले यो जिम्मा लिनुपर्छ भने । उनले भने, ‘यो पारित नै गर्नुथियो भने किन गिजोलियो त ? परियोजनाको कस्ट त बढ्ने होला । कार्यान्वयनमा जाँदा, चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ त ? थप व्ययभार लाग्छ । यो कसले व्यहोर्छ ?’ 

भट्टराईले थपे, ‘अन्तिममा यही गर्नुथियो भने किन यति लामो समयसम्म विरोध भयो ? उनीहरुले नै अहिले यसको जिम्मेवारी लिनुपर्छ । अबको चूनौति भनेको कार्यान्वयनको कुरा हो । यसमा बढेको कष्ट कहाँबाट व्यहोर्ने ?’ उनले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको टिप्पणी गरे । 

भट्टराईले भने, ‘रुसले युक्रेनमाथि जुन आक्रमण गरेको छ, यो अनुचित छ । जेसुकै कारण भए पनि यो आक्रमण गलत हो । २१औं शताब्दीमा यो आक्रमण र सैन्य हस्तक्षेप मान्न पनि सक्दैनौं । हामी अहस्तक्षेपको सिद्धान्तमा छौं । विश्व शान्तिपूर्ण माध्यमबाट नै सबै समस्याको समाधान हुनुपर्छ । अहिले माईट ईज राईटको समय होईन । शक्तिको बलमा जाने कुराको हामी विपक्षमा छौं । हामी शान्तिपूर्ण पक्षमा छौं । यो युद्ध छिटो अन्त्य होस् । नेपालीहरुको उद्धार होस् ।’ 

वक्तव्यमा हतार गरेको सरकारले आफ्ना नागरिकको उद्दार गर्न भने उदासिनता देखाएको उनको भनाई छ । युक्रेनको मामिलामा होस या अरु मामिलामा, सरकार आफूलाई असक्षम दर्ज गरिरहेको भट्टराईले बताए । उनले मुलुकलाई छिटोभन्दा छिटो निर्वाचनमा लैजानुपर्नेमा जोड दिए । 

नेता भट्टराईले भने, ‘छिटोभन्दा छिटो निर्वाचनमा जाऔं । नयाँ सरकार बनाऔं । मुलुकले राजनीतिक स्थायित्व खोजिरहेको छ । सभामुखले जे गरिहनुभएको छ, त्यो गल्ती गरिरहनुभएको छ । महाभियोग अन्तिम अस्त्र हो । त्यो खालको स्थितिमा एक जना राजनीतिककर्मीलाई किन पुर्याउने ? भन्ने हाम्रो भनाई हो । अहिले हाम्रो पर्खने र धैर्यताको बाँध टुटिरहेको छ । उहाँ आँफैले पनि महाभियोग खोजिनरहनुभएको छ । संसद् सुचारुको विषय पनि सभामुखको हातमा छ । या त उहाँले हामीले कारबाही गरेका सांसदहरुको सूचना टाँस गर्नुपर्यो, या त उहाँले मार्ग प्रशस्त गर्नुपर्यो ।’

Advertisement

Advertisement