डा. केसीको दावी– महाकाली सन्धी जस्तै एमसीसी पनि कहिल्यै कार्यान्वयन हुन्न

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले एमसीसी पनि महाकाली जस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले यस्तो दावी गरेका हुन् । 

डा. केसीले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्वीकृति नदिए के हुन्छ ? भन्दै प्रश्न गरे । उनले भने– ‘एमसीसीलाई लिएर हामी यहाँसम्म लड्यौं । मैले त सुरुमै यो एमसीसी भन्ने वस्तु नेपालमा भएरै छोड्छ भनेको थिएँ । एमसीसी यो माओवादी केन्द्रले ल्याएको हो । यसमा संलग्न नभएको कोही छैनन् भनेर अस्ति गगन थापाले संसद्मा सबैको नाम नै लिएर भने । तर, एमसीसीबारे जनतामा धु्रविकरण बनाउने काम भयो । व्याख्यात्मक घोषणा गरेर फेरि नेपालीलाई झगडा गराउने काम भयो । भारतले स्वीकृति दिने कुरा पनि बाँकी छ ।’ 

Advertisement

भारतलाई झ्वाँक चल्यो भने एमसीसीको प्रसारणलाइन निर्माणमा स्वीकृति नदिने उनको तर्क छ । केसीले मोदीले ईपीजीको प्रतिवेदन नै नबुझेको उदाहरण दिँदै आफ्नै देशका प्रतिनिधि समेत बसेर तयार पारेको रिपोर्ट नै मोदीले बुझ्दिन भने । भोलि एमसीसीको विषयमा भारतले मान्दिनँ भन्यो के हुन्छ ? भनी प्रश्न गरे । 

केसीले आज एमसीसीबाट अगाडि बढिसकेको भनिएपनि यो कहिल्यै कार्यान्वयनमा नजाने ठोकुवा गर्दै थपे, ‘हिजो यहाँ अनमिन आएको थियो । धेरैले त्यतिबेला अब अनमिन फिर्ता जाँदैन भनेका थिए । तर कसो कसो गरेर यहाँका नेताले पठाए । अब एमसीसी भनेको त्यही अनमिनलाई रिप्लेस गर्न आएको हो भन्ने पनि छ । यो फिर्ता जाँदैन् । पाँच वर्षभित्र एमसीसी कार्यान्वयन हुनुपर्छ । योभन्दा उता एक दिन पनि जानुहुँदैन् भनेर जनता सचेत हुनुपर्छ । होईन भने यी नेताले देशमा २५ वर्ष एमसीसी रहने प्रपञ्च गराउँछन् । हामीले हात काटेर दिईसकेका छौं । ६ वर्ष पनि हुन नदिउँ । महाकाली कार्यान्वयन भयो त ? २५ वर्ष भइसकेको छ त । यो त होल्ड गर्ने खेल हो । बनाउने भए पहिले नै बनिहाल्थ्यो नि ।’

अहिले नेताहरुलाई सत्ताभए हुने र पद भए हुने, अरु केही नचाहिने अवस्था रहेको डा. केसीले सुनाए । उनले भने, ‘एमसीसी त्यस खालको दृष्टान्त हो । एमसीसी नेपाली जनताले गरेको होईन् । तर, अहिले जबरजस्ती रुपमा समाज विभाजित भयो । मेलम्ची १३ अर्बको थियो । अहिले ३१ अर्ब पुग्यो यसको लागत । अरुण तेस्रोमा पनि त्यही भयो । एमसीसीमा जे हो, महाकालीमा ठ्याक्कै त्यही हो । एमालेमा महाकाली हुन्न भन्ने रुझान ल्यायो । पछि भारतको आश्वासन पाएपछि पारित को पक्षमा आयो ।’ 

केसीले थपे, ‘अहिले एमसीसीमा माओवादी जहाँ थियो, हिजो महाकालीमा एमाले पनि त्यही हो । प्रचण्डले नेपाली जनतालाई ठूलो च्यालेन्ज दिनुभयो । उहाँले नेपाली जनता राष्ट्रवादी छैनन् भनेर अस्तिको पत्रकार सम्मेलनमा भन्नुभयो । नेपाली नेताहरु आफ्नो अनुकुल राष्ट्रिय मुद्दालाई दुरुपयोग गर्छन् र खेलबाड गर्छन् ।’

Advertisement

Advertisement