बञ्चरेडाँडा ल्याण्डफिलसाइटको निर्माण कार्य स्थानीयले रोके, फोहोर ढुवानी पनि रोक्ने चेतावनी

Advertisement

काठमाडौं । स्थानीयको विरोधका कारण बञ्चरेडाँडा ल्याण्डफिलसाइटको निर्माण कार्य फेरि रोक्किएको छ । आफूहरुको स्वास्थ्यमा खेलवाड गर्दै बञ्चरेडाँडामा फोहोर थुपार्ने तयारी भएको भन्दै स्थानीयले दुई दिनदेखि निर्माणकार्य रोकेका हुन् । 

सरकारी पक्षले गरेका प्रतिवद्धता कार्यान्वयन नगरी फोहरमैला थुपार्ने तयारीमा लागेकाले आफूहरुले बाध्य भएर निर्माणकार्य रोक्नुपरेको उनीहरुको भनाई छ । विरोधमा उत्रिनेमा धुनीबेशी नगरपालिका वडा नं १, २, ३ र ककनी गाउपालिका वडा नं १, २, ३ का बासिन्दा हुन् । 

Advertisement

सोमबारसम्म माग सम्बोधन नभए मंगलबारबाट फोहोरको ढुवानीमा समेत अवरोध गर्ने उनीहरुले अल्टिमेटम दिएका छन् । स्थानीयवासी समीर ढुंगानाले यो आफूहरुको पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए कडा विरोधका कार्यक्रममा जान बाध्य हुने बताए । 

उनले भने, ‘बञ्चरेडाँडा कि फोहोररहित, हुनुपर्यो, कि मानव रहित । स्थानीयको जीवन बीमा, शिक्षा, स्वास्थ्य, पक्की बाटो हुनुपर्यो । यो सरकारको प्रतिवद्धता पनि हो । प्रतिवद्धता पूरा नगरी फोहोर मात्रै ल्याएर थुपार्ने कुरा स्वीकार्य हुँदैन् ।’ स्थानीयले बञ्चरेडाँडाको वरीपरी कम्तिमा तीन हजार मिटर क्षेत्रफल अधिग्रहण हुनुपर्ने र प्रभावितहरुलाई उचित मुआब्जा दिनुपर्ने माग पनि गरेका छन् । 

केही दिनअघि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिलसाइटको अनुगमन गरेकी थिइन् ।

Advertisement

Advertisement