पर्यटन बोर्ड र नाराबीच र्याफ्टिङ तालिम सञ्चालनको लागि सम्झौता

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको जनाएको छ । 

जस अनुसार नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)सँग तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको उसले जनाएको छ । सम्झौतापत्रमा बोर्डका सीईओ डा धनन्जय रेग्मी र नारा अध्यक्ष गंगाप्रसाद नेपालले हस्ताक्षर गरे । 

Advertisement

सीईओ रेग्मीले यसअघि पनि बोर्डले नारासँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यो तालिमले जलयात्रा क्षेत्रमा थप नयाँ रोजगारी सिर्जना हुने बताए । 

सम्झौता अनुसार नाराले त्रिशुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब एकसय जनालाई र्याफ्टिङ सम्बन्धि तालिम प्रदान गरिने छ । दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीयस्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको छ । जेठ १५ गते तीन वटै नदीमा तालिम सम्पन्न गरिने छ । 

त्रिशुली नदीमा देशैभरबाट र अन्य दुर्ई नदीमा स्थानीयलाई तालिम प्रदान गरिने जनाउँदै बोर्डले नेपालमा हाल करिब सात सय तालिम प्राप्त र्याफ्टिङ गाइडहरु रहेको जानकारी दिएको छ । यसमा अप्रत्यक्ष रुपमा आश्रित जनशक्ति करिब दुई हजार भन्दा बढि रहेको बताइन्छ ।
 
दुई वर्ष ६ महिना अवधिको यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सह–लगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । 

यो परियोजनाले पहिलो चरणमा पर्यटन क्षेत्रका करिब छ हजार पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिनेछ । यस्तै दोस्रो चरणमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय जनशक्तिको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गरिने जनाइएको छ । 

Advertisement

Advertisement