ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालको रोमाञ्चक जित

Advertisement

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)माथि सोमबार १५ रनको रोमाञ्चक जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमात्र जोड्दा नेपालले १५ रनको जित निकालेको हो । 

Advertisement

जवाफी ब्याटिङ गरेको पिएनजीका लागि नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए पनि जित दिलाउन सकेनन् । यस्तै, सेसे बाउले ३०, चाल्र्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए । 

पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिंदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको थियो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । ३५ बलमा आशिफले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए । 

यस्तै करण केसीले दुई छक्कासहित १४ रन जोड्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाएका थिए । यसबाहेक, लोकेश बमले पाँच, दीपेन्द्रसिंह ऐरीले चार र सोमपाल कामीले एक रन जोड्दा कप्तान सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे । पिएनजीका अलेइ नाओ, चाड सोपर र चाल्र्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे । यसअघिको दुई एक दिवसीय शृंखलामा नेपाल पिएनजीसँग २–० ले पराजित भएको थियो । 

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ । नेपालले पहिलो खेलमा २ अंक जोडेको छ ।

Advertisement

Advertisement