‘क्याम्प २’ मा कन्सर्ट गर्ने
‘क्याम्प २’ मा कन्सर्ट गर्ने
काठमाडौं । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने र सगरमाथा क्याम्प २ (६,५०० मिटर)को उचाइमा कन्सर्ट गर्ने भएका छन् । यसअघि उनले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।
त्यस्ते, अभिनेत्री दिया पुनले पनि सगरमाथा आरोहण गर्दैछिन् । आफू अबको कहीं दिनमै सगरमाथा बेस क्याम्प प्रस्थान गर्ने लामाले बताएका छन् । सगरमाथा आरोहणसँगै क्याम्प २ मा कन्सर्ट समेत गर्ने फरक योजना बनाएका उनले विश्वको सबैभन्दा उचाइमा कन्सर्ट गरेर कीर्तिमान राख्न लागेका हुन् ।
साथै, जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिनु पनि आरोहणको उद्देश्य हो भन्दै लामाले भने, ‘यो मेरो कन्सर्ट सोलो हो । यो मेरो पहिलो अनुभव हुनेछ । त्यति उचाइमा सोलो गर्ने ।’ उनले थपे, ‘मेरो जीवनको यो सबैभन्दा ठूलो निर्णय हो । सगरमाथा आरोहण गर्नै कठिन छ । तर आशा छ मैले सफल आरोहण गरेर फकिने छु ।’
अभिनेत्री दियाले जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले हिमाल आरोहण गर्न लागेको लामाले जानकारी दिए ।
उनका अनुसार नेपालका हिमाल र हिमनदी पग्लिँदै गएको र यो नेपालको मात्रै मुद्दा होइन भन्दै यसमा विश्वकै ध्यानाकृष्ट हुनु जरुरी रहेको बताए ।
कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवरद्धन गर्नु र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफू सगरमाथा आरोहण गर्न लागेको लामाले बताए । उनले क्याम्प २ मा गर्ने कन्सर्ट गर्न गितार लिएर हिमाल चढ्ने जानकारी दिए । लामासँगको छोटो कुराकानीः
हिमालको आरोहण गर्न कसले उत्प्रेरित गर्यो तपाईंलाई ? कि सानैदेखिको सोच हो ?
मैले २००३ देखि नै हिमाल चढ्ने योजना बनाएको हो । तर त्यो हुनु सकेन् । म प्रकृतिप्रेमी, साहसिक पर्यटनप्रेमी भएकोले मैले धेरै ट्रेकिङ गरेको छु । धेरै वटा चार हजार मिटर उचाइका पिक, हिमालसम्म पुगेको छु । मर्दी हिमालको पनि हाइ बेस क्याम्प, दुध कुण्ड ट्रेक, भैरव कुण्ड पदयात्रा, पाँच पोखरी त्यस्तै चार–पाँच हजार उचाइसम्म पुगेकोले गत वर्ष लोबुचे पिक चढ्ने अवसर जुट्यो ।
मैले पहिलादेखि नै हिमाल चढ्छु भनिरहेकै हो । मेरो इच्छा पनि थियो । त्यो यस वर्ष मिल्यो । र, यस पटक सगरमाथा आरोहणमा जाँदैछु। ‘म्यूजिक फर अ कज्’ नाराका साथ सगरमाथाको क्याम्प २ मा एउटा संगीतक प्रस्तुती दिएर जलवायु परिवर्तनको विषेयलाई लिएर जागरुकता फैलाउने र विश्वको ध्यानाकर्षण गर्ने हिसाबले गर्न खोजेको हो। सबैमा एउटा सकारात्मक सन्देश जाओस्, जलवायु परिवर्तनबारे। विशेषगरी हाम्रो नेपालका युवाहरुलाई प्रेरित गरुँ भन्ने सोचका साथ जलवायु परिवर्तनसम्बन्धी सबैले मिलेर केही गर्नुपर्छ र सबै जना संलग्न हुनुपर्छ भन्ने हो। जलवायु परिवर्तनसम्बन्धी के गर्न सकिन्छ ? र हाम्रा हिमालहरु कसरी बचाउनको सकिन्छ ? भन्ने उद्देश्य हो ।
हिमाल आरोहण र कन्सर्ट गर्ने योजना कसरी सुरु भयो ?
जलवायु परिवर्तनको असरका कारण ग्ल्यासियर लेक आउट्बस्ट फ्लड भइरहेको छ । हालै मेरो आफ्नै गाउँकै कुरा गर्नुपर्दा बाढी, पहिरो गयो । पाँचपाेखरी थाङपाल गाउँपालिका व.ड.१ को सुनचौर, याङरी र टासीबा पनि त्यसका कारण धेरै क्षति पनि भयो। विशेषगरी मेलम्चीमा धनसम्पत्ति मात्र नभएर कतिले आफ्नो ज्यान समेत गुमाए । त्यस्तै, मनाङमा पनि क्षति भयो । यसले गर्दा पनि मलाई झन् यसका लागि केही गरुम भने थियो । र यस पटक सगरमाथा आरोहण गर्ने र यो अभियान सुरु गरेको हो ।
यसको मुख्य उद्देश्य भनेको मैले अहिले जति पनि गोफन्डबाट पैसा उठाइरहेको छु, त्यो पैसा जलवायु परिवर्तनको जागरुकतासम्बन्धी कामहरुमा प्रयोग गर्ने हो । साथै वृक्षारोपण गर्ने पनि योजना छ। मेरो यो एक्स्पेडिशन मेरो एक्लैको सोलो हो । जति पनि यस आरोहणमा खर्च हुने र भइरहेको छ, ती सबै मेरो आफ्नै व्यक्तिगत खर्चमै जान लागेको हो । यसमा कुनै पनि प्रायोजक छैन् ।
यसअघि तपाइले लोबुचे पिक आरोहण गर्नुभयो । त्यसपछि आफूमा अरु हिमालहरु पनि चढ्न सक्छु भन्ने विश्वास बढेको हो ?
मैले पहिला कहिले पनि कुनै हिमाल आरोहण गरेको थिइन् । गत वर्ष लोबुचे पिक आरोहणपछि मलाई अझ् हिम्मत बढ्यो । त्यसपछि मलाई साथीभाइहरुले एक्दमै प्रेरित, सहायता गर्नुभयो । यसले पनि ममा उर्जा मिल्यो, । त्यस्तै, परिवारले पनि मलाई सहायता गर्यो । विशेषगरी मेरो आठ वर्षकी छोरीले ‘आपा यू केन डु इट, गुड लक’ भन्छिन । यस कुराले यो अभियानप्रति सकारात्मक रहेको छु ।
सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले गायक लामा र अभिनेत्री दिया पुनलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना दिए ।