तैत्तिरीयोपनिषद्ः जसले परमात्मालाई जान्दछ, ऊ परमात्मास्वरुप हुन्छ

Advertisement

शिरीषवल्लभ प्रधान
तीन खण्डमा विभाजित यस उपनिषद्मा ऊँकार उपासना, लक्ष्मी, सरस्वतीको उपासना, गुरु आज्ञाको पालना, गृहस्थाश्रम, वेदाध्ययन, अन्नको महत्व, कर्मकाण्डका विधि, ब्रह्मका लक्षणहरु, तप, शास्त्र चिन्तन आदिव्दारा ब्रह्मज्ञान हासिल गर्ने उपाय जस्ता धेरै महत्वपूर्ण विषयहरुकाबारे वर्णन गरिएको यो उपनिषद् छोटो भए पनि पूर्ण मानिन्छ । यसको प्रथम खण्ड शिक्षावल्लीमा वेद अध्ययनका नियमहरु, कर्मकाण्ड, गुरु उपदेश, अनुशासन, नैतिक मूल्य, मान्यता आदिबारे उल्लेख छ । दोश्रो र तेश्रो खण्डहरु ब्रह्मानन्दवल्ली र भृगुवल्लीमा वेदान्तका ज्ञानहरुको सरल व्याख्याकासाथ चर्चा गर्दै, आत्मा, परमात्मा, जगत सृष्टिको क्रम आदिबारे जानकारी दिइएको छ ।

यस उपनिषद्मा परमात्मा वा ब्रह्मको स्वरुप लक्षण र तटस्थ लक्षणबारे वेग्लावेग्लै खण्डमा व्याख्या गरिएको पाइन्छ ।
ब्रह्मको स्वरुप लक्षणबारे वर्णन गर्दै त्यसमा मा भनिएको छ,
ब्रह्मविदाप्नोति परम् । ........  सत्यंज्ञानंअनन्तम् ब्रह्म ।।२.१.१।।

Advertisement

अर्थात् जसले ब्रह्मलाई जान्दछ, उसले परमात्मालाई प्राप्त गर्छ । तात्पर्य परमात्मालाई जसले जान्दछ ऊ स्वयं परमात्मास्वरुप हुन्छ। ब्रह्मको स्वरुप कस्तो हुन्छ भन्नेबारे उपनिषद्ले भन्छः त्यो सत्यस्वरुप, ज्ञानस्वरुप र अनन्तस्वरुप छ । यसरी सत्य, ज्ञान र अनन्तलाई ब्रह्मको लक्षण बताइएको छ ।

सत्य त्यसैलाई भनिन्छ, जो अविकारी, अविनाशी र अपरिवर्तनीय छ । जस्तै समुद्र अपरिवर्तनीय छ तर छाल वा फिंज परिवर्तनशील छ । तसर्थ समुद्र मात्र सत्य हो, अरु हैन । त्यसैगरी स्वर्णका चुरा, औंठी, नेक्लेस आदि बन्छन् तर ती सब विकारले युक्त छन्, सत्य त केवल स्वर्ण मात्र हो, जो विकार रहित भै सबै गहनाहरुमा व्याप्त छ । ब्रह्म समग्र अस्तित्वको आधार हो, जुन शुध्द र विकार रहित छ । ब्रह्म अजन्मा, सर्वव्यापी, अनादि, अमर छ, त्यसैले त्यो एकमात्र सत्य हो ।

त्यस्तै, जो अस्तित्वमा छ, त्यो सत्य कहलिन्छ । ब्रह्म सदा अस्तित्वमा रहन्छ र त्यसको अस्तित्वको कहिल्यै अभाव हुन्न, त्यसैले त्यो सत्य हो । जुन बस्तु भूत, वर्तमान् र भविष्य तीनैकालमा अस्तित्वमा रहन्छ, त्यही सत्य मानिन्छ ।

ब्रह्म शुध्द चैतन्य हुनाले ज्ञानस्वरुप छ, किनभने विना चेतना ज्ञान हुनु संभव छैन । छान्दोग्योपनिषद् अनुसार ब्रह्मलाई त्यस्तो बस्तु भनिएको छ, जसलाई जानिए पछि जान्नपर्ने कुनै कुरा बाकि रहंदैन (यहां प्राविधिक ज्ञानको प्रसंग उल्लेख गरिएको छैन) । शास्त्रमा ब्रह्मलाई सम्पूर्ण ज्ञानको श्रोत मानिएको पनि छ । भगवान् रामले मुक्तिकोपनिषद्मा भन्नुभएको छ, मैले फेर्ने श्वास नै चार वेद हुन् । अर्थात् परमात्माको स्वभाव नै ज्ञानले ओतप्रोत हुन्छ । त्यस्तै, जीवलाई अल्पज्ञ र बह्मलाई सर्वज्ञ पनि भनिएको छ । 

ब्रह्मको अनन्तत्व त्यो देश, काल र वस्तुव्दारा अवाधित हुनाले सिध्द हुन्छ । ब्रह्म सर्वव्यापी र सर्वकालीन मानिन्छ । ब्रह्म बाहेक अन्य कुनै पनि बस्तु सर्वव्यापी हुनसक्दैन । ईशावास्योपनिषद्मा भनिएको पनि छ, ईशावास्यं ईदंसर्वम् अर्थात यो संसार ईश्वरव्दारा आच्छादित छ । ब्रह्म सर्वत्र छ, कणकणमा छ, त्यसैले पनि त्यो देश विशेषव्दारा बाधित छैन ।

ब्रह्म एउटा बस्तुमा हुंदैमा अर्को बस्तुमा त्यसको अभाव हुन सक्दैन । यसरी ब्रह्म बस्तुव्दारा पनि बाधित छैन, किनकि त्यो नभएको कुनै बस्तु नै छैन । ब्रह्लाई आकाशसंग पनि तुलना गरिएको छ तर त्यसको अनन्तता आकाशभन्दा पनि उच्चकोटीको मानिन्छ । किनभने आकाश परमात्माको कार्य हो, कारण हैन, तर ब्रह्म कसैको कार्य नभै सबैको कारण हो ।
उपनिषद्मा सृष्टिको क्रमउल्लेख गर्दै भनिएको छ, आत्मा अर्थात् परमात्माबाट शब्दगुणले युक्त आकाश उत्पन्न भयो। त्यसपछि आकाशबाट शब्द र स्पर्श दुई गुण सहितको वायु उत्पन्न भयो । वायुबाट शब्द, स्पर्श, रुप तीन गुण भएको तेज उत्पन्न भयो । तेजबाट शब्द, स्पर्श, रुप र रस गरी चार गुण भएको जल उत्पन्न भयो । अन्त्यमा जलबाट शब्द, स्पर्श, रुप, रस र गन्ध गरी पांच गुण भएको पृथ्वी उत्पन्न भयो ।

ऊंकार उपासनाको महत्व दर्शाउंदै उपनिषद्मा भनिएको छ, ओमिति ब्रह्म । ओमितीदँसर्वम् (१.८.१) ईत्यादि । अर्थात्, ऊं यो शब्द ब्रह्म हो, किनभने यो ऊँ सर्वरुप हो । वेद अध्ययन गर्दा सर्वप्रथम ओम् उच्चारणबाट सुरु गरिन्छ । त्यसैगरी सामगान गर्दा पनि ओम् बाटै सुरु हुन्छ भने कर्मकाण्ड अन्तर्गत अग्निहोत्र आदि कर्म गर्दा ओमकार उच्चारणबाटै सुरु हुन्छ । गुरुले शिष्यलाई वेदका मन्त्र पढाउंदा पनि ऊबाटै सुरु गरिन्छ ।
दीक्षान्तको अवसरमा उपदेशः

उपनिषद्ले वेदको अध्ययन र अध्यापन को महत्व दर्शाउंदै भनेको छः

ऋतं च स्वाध्यायप्रवचने च । सत्यं च स्वाध्यायप्रवचने च । तपश्च स्वाध्याय प्रवचनेच (१.९.१) ।

अर्थात्, अरुको हित हुने कुरा गर, तथा वेदको अध्ययन र अध्यापन जारी राख । त्यस्तै तप गर, सत्य भाषण र स्वाध्याय, प्रवचन जारी राख  इत्यादि । त्यसैगरी शिष्यलाई वेदाध्ययन गराई दीक्षान्तको समयमा अन्तिम उपदेश दिंदै गुरु भन्छन्ः

सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमदः । आचार्याय प्रियं धनमाहृत्य प्रजातन्तुं मा व्यवच्छेसीः । सत्यान्न प्रमदितव्यम् । धर्मान्न प्रमदितव्यं । कुशलान्न प्रमदितव्यम् । स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् (१.११.१) देवपितृकार्याभ्यां न प्रमदितव्यम् । मातृदेवो भव । पितृदेवो भव ।  आचार्यदेवो भव । अतिथिदेवो भव (१.११.२) ।

सधैं सत्य वचन बोल, धर्म अर्थात् आफ्नो कर्तव्य निर्वाह गर । गुरुलाई आफ्ना गच्छेअनुसार यथेष्ट धन प्रदान गरी उनको ऋणबाट मुक्त भै उनको आशिर्वाद लिई योग्य कन्या प्राप्त गरी प्रणयसूत्रमा बांभिई सन्तान दरसन्तान जन्माई सृष्टिको परम्परालाई निरन्तरता देऊ । यसरी विद्या अध्ययन उपरान्त गनुपर्ने कर्तव्य सम्झाउंदै गुरु भन्छन्ः तिमी सधैं सत्य बोल, अरुको हित हुने कार्य गर, अध्ययन र अध्यापन कार्यमा कहिल्यै आलस्य नगर, सधै त्यसमा लागिरहू । आफूभन्दा ठूला माता, पिता, गुरु आदिलाई आदर देऊ र अतिथिको सत्कार गर, समाजमा तिम्रो के कर्तव्य छ, त्यो पालना गर ।

इन्द्रिय दमन, मनोनिग्रह आदि गरिनु आवश्यक छ भन्ने  सम्झाउंंदै त्यसमा भनिएको छ, सत्य वचन बोल, विवाह आदि लोक व्यवहारका कार्य गर्दै पुत्र, पौत्र आदि सन्तान दरसन्तान उत्पन्न गरी सृष्टिक्रमलाई निरन्तरता देऊ र साथै वेदाध्ययन र अध्यापन पनि नछोड । त्यस्तै देवताहरुको उपासना पितृ आदिलाई तर्पण दिने कार्यहरुमा पनि प्रमाद वा हेलचक्र्याई नगर ।
त्यसैगरी ब्राह्मण वा अतिथिलाई आसन दिएर सत्कार गर । उनीहरुलाई सम्मान देऊ, दान दक्षिणा दिंदा श्रध्दापूर्वक देऊ, लज्जापूर्वक र भय मानेर देऊ अर्थात् गर्व वा घमण्ड गरेर हैन ।

Advertisement

Advertisement