उच्च शिक्षा लिएका महिलाहरुले त्यसको सदुपयोग गर्न सकेनन्: रिजाल

Advertisement

काठमाडौं । एपेक्स कलेजकी प्रधानाध्यापक दुर्गा रिजालले अनौपचारिक शिक्षा प्राप्तिले मात्रै आत्मनिर्भर हुननसकिने भन्दै त्यसलाई व्यवहारमा उतार्न आयमूलक काममा लाग्नुपर्ने बताएकी छन् । 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले विशेषत उच्च शिक्षा लिएका महिलाहरूले त्यसको सदूपयोग नगरेकोमा चिन्ता व्यक्त गरिन् । शिक्षा रोजगारमूलक हुनुपर्छ र प्राप्त शिक्षाको सदूपयोग हुनुपर्छ भन्दै सीपमूलक शिक्षामा जोडदिने खालको पाठ्यक्रम बन्नुपर्ने बताइन् । 

Advertisement

रिजालले भनिन्, ‘उचित शिक्षामा गरिएको लगानीले सोही अनुरूपको प्रतिफल दिन्छ । देशको उन्नति र प्रगतिका लागि त्यो सुहाउँदो शिक्षा जरूरी हुन्छ ।’ 

आर्थिक आत्मनिर्भरता र महिला शीर्षकमा भएको उक्त कार्यक्रममा क्याट कुइन काठमाडौं र पोखरा राइनोजका प्रवन्ध निर्देशकले कोहिनूर सिंह अग्रवालले महिलाले लगानी गरे पनि पुरूषको संलग्नता हुँदा मात्रै समाजले राम्रोसँग स्वीकार्ने परिपाटीको वर्णन गरिन् । 

उनले उदाहरण दिँदै भनिन्, ‘क्रिकेट खेलाउँदा पुरूष खेल्न आए भने दर्शकको संख्या २० हजार हुन्छ भने महिलाले खेल्दा दुई सय पनि पुग्दैनन् । यस किसिमको विभेदले कसरी समाज समानुपातिक होला ? कोहिनुरले थपिन्, ‘एकातिर महिलाहरू अर्थोन्नतिका काममा न्यून रूपमा सहभागी छन् भने अर्कातिर भएकालाई पनि उचित वातावरण छैन । 

कार्यक्रमकी अर्की वक्ता सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर कमला थापाले महिलाहरूले आयआर्जनका काम गर्दै  ओैपचारपक शिक्षा प्राप्तिमा लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘म आठ कक्षा पढ्दादेखि  आयआर्जनमा लागें । तर एक ठाउँमा पुगेपछि ओैपचारिक शिक्षाको अभाव खड्कियो । र, पढ्न थालें । ४५ वर्षको उमेरमा १२ कक्षा पास गरें । अहिले निं उच्चशिक्षा लिंदैछु ।’

कमलाले पढ्न चाहने महिलालाई राज्यले विशेष सहुलियत दिनुपर्ने तर्क गरिन् । सकारात्मक विभेदको नीति कार्यान्वयनका लागि पनि महिलालाई निःशुल्क शिक्षा दिनुपर्ने उनको भनाई छ । 

Advertisement

Advertisement